५ महिनामा ४१४ विदेशीलाई नेपालमा श्रम स्वीकृति

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, १४ : १६
५ महिनामा ४१४ विदेशीलाई नेपालमा श्रम स्वीकृति

काठमाडौं । पछिल्लो ५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् ।

यस अवधिमा झण्डै ३ लाख नेपाली नागरिक कामको खोजीमा विदेशिएका छन् । विभागका अनुसार यस अवधिमा ५४५ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको छ ।तथ्यांक अनुसार मंसिर महिनामा मात्र ११० जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका छन् ।

यस महिनामा १५९ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको विभागको तथ्यांक रहेको छ । यो अवधिसम्म प्रतिष्ठान काम काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे १२ वटा अनुगमन भएको विभागले जनाएको छ ।

मंसिरसम्म थप एक ट्रेड यूनियन महासंघ दर्ता भएको छ । दुई वटा ट्रेड युनियन दर्ता भएका छन् । ट्रेड युनियन नवीकरणको संख्या ७ रहेको छ । यो अवधिमा २ वटा औद्योगिक दुर्घटनाको उजुरी आएको विभागले जनाएको छ ।

विभागमा श्रमिकबाट ३८७ दाबी उजुरी र ७३ वटा सामूहिक उजुरी परेको छ । यो अवधिमा २३६ वटा श्रमिक आपूर्तिकर्ताको इजाजत नवीकरण भएको छ । १८६ वटा श्रम विवाद यो अवधिमा समाधान गरिएको विभागले जनाएको छ ।