कविता : कर

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०७५, १३ : ११
कविता : कर

-ध्रुवप्रसाद गजुरेल

मैले सधैँ कर तिरेको छु म जन्मेको देशलाई
जीवनभर र मर्दामा कर तिर्नेछु यो देशलाई
तपाईले आज बल्ल थाहा पाउनु भएछ साथी
जीवनभर करै नतिरी डस्नु भएछ यो देशलाई ।

म जन्मदा अङ्ग छोप्ने कपडा किनेर
मैले राष्ट्रलाई कर तिर्न शुरु गरेको हुँ
अहिले टिभीमा सेटअप बक्स किनेर
घर भरका टिभीमा कर तिरेको हुँ ।
इन्टरनेट जडान गर्दै वाइफाई चलाउँदै
मोबाइलबाटै विश्वभर कुरा गरेको छु
महँगा सामान र कार किनेर चलाउँदै
यो देशका लागि मैले कर तिरेको छु ।

घर, बाटो, इन्धन र पढाइमा कर तिरेको छु
हिलाम्मे सडक जुत्ता हातमा लिएर कर तिरेको छु
रूख बिरुवाले फाल्ने अक्सिजनमा कर तिरेको छु
जाडो, गर्मी, पलपल, हरेक क्षण कर तिरेको छु ।

 सामाजिक सञ्जालमा मेरो ध्यान पुगेको छ
भन्छन् हाँस्दा, रुदा, चुम्बनमा कर लागेको छ
करको व्याख्या गर्ने ए मेरा साथीहरू हो
बुझ्नुहोस् मिनेटमा ६० सेकेन्ड कर लागेको छ ।

-तारकेश्वर नगरपालिका–३, काठमाडौँ

प्रतिक्रिया दिनुहोस