राष्ट्रसङ्घीय सुरक्षा परिषदमा गाजामा सहायता बढाउने प्रस्ताव पारित

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, १२ : ३५
राष्ट्रसङ्घीय सुरक्षा परिषदमा गाजामा सहायता बढाउने प्रस्ताव पारित

काठमाडौँ। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजापट्टीका लागि थप सहायताको आग्रह गर्ने प्रस्ताव पारित गरेको छ । तर इजरायल र हमासबीच तत्काल युद्धविरामको लागि आह्वान गर्न असफल भएको छ ।

सुरक्षा परिषद्को प्रस्तावमा भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्न सक्ने पाँच स्थायी सदस्यसहित कुल १५ सदस्य राष्ट्रले मतदान गर्ने व्यवस्था छ । लामो वार्तापछि इजरायलको मुख्य साझेदार एवं सुरक्षा परिषद्को स्थायी सदस्य अमेरिका विशेषाधिकार छल्न सहमत भएपछि मतदान भएको थियो ।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये अमेरिका र रुस मतदान प्रकृयामा सहभागी भएनन् । अरु १३ देशले प्रस्तावमा समर्थन जनाए । सुरक्षा परिषद्को निर्णय कानुनी रूपमा बाध्यकारी मानिन्छ । पछिल्लो प्रस्ताव संयुक्त अरब इमिरेट्स यूएईले पेस गरेको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सहायता आपूर्तिको लागि मुख्य समस्या इजरायलको आक्रमण भएको बताएको बीबीसीले जनाएको छ । गाजामा द्वन्द्व अन्त्य नभए त्यहाँ ६ महिनामा अनिकाल आइपर्ने चेतावनी दिइएको छ ।