राष्ट्रपति चुनावअघि ट्रम्पलाई झट्का

एजेन्सी

बुधबार, ०४ पुस २०८०, ११ : १३
राष्ट्रपति चुनावअघि ट्रम्पलाई झट्का

एजेन्सी । संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिर निकालेको छ।

अमेरिकी संविधानको विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचन लड्न ट्रम्प अयोग्य रहेको फैसला अदालतले सुनाएको हो। अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो।

यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।मंगलबार लिइएको निर्णय कोलोराडो राज्यमा मात्र लागू हुनेछ। यस निर्णयमा पुनरावेदन विचाराधीन छ, त्यसैले यसलाई अर्को महिनासम्म स्थगित गरिएको छ।

कोलोराडेको सर्वोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘हामी यो निष्कर्षमा त्यत्तिकै पुगेका होइनौँ, हामी हाम्राअगाडि रहेका प्रश्न र तिनका नतिजा कत्ति भयंकर हुनेछन् भन्ने कुरामा हामी सचेत छौँ।’ 

फैसलामा अगाडि भनिएको छ, ‘त्यसैगरी हामी कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यप्रति सचेत छौँ। र, कुनै डर, पक्षपातबिना तथा जनताको प्रतिक्रियाबाट प्रभावित नभई कानुनसम्मत फैसला गरेका हौँ।’

बीबीसीको समाचारअनुसार यो फैसला कोलोराडोको तल्लो अदालतका न्यायाधीशले दिएको निर्णयको ठीक उल्टो हो। त्यसमा संविधानको १४औँ संशोधन अर्थात् विद्रोह खण्डमा राष्ट्रपतिका हकमा लागू हुने कुरा उल्लेख नगरिएको भनिएको थियो। 

यद्यपि सोही तल्लो अदालतका न्यायाधीशले पनि २०२१ मा अमेरिकी क्यापिटल दंगामा ट्रम्प संलग्न भएको पत्ता लगाएका थिए।  सन् २०२० को राष्ट्रपति चुनावमा जो बाइडेनको विजयलाई अस्वीकार गर्दै ट्रम्पका समर्थक २०२१ जनवरीमा क्यापिटल हिलमा प्रवेश गरेका थिए। 

प्रतिक्रिया दिनुहोस