जिम्मेवारी पूरा नगर्ने पाँचवटा कम्पनी कालोसूचीमा

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, १२ : २३
जिम्मेवारी पूरा नगर्ने पाँचवटा कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । एउटा कम्पनी तीन वर्षसम्मका लागि, एउटा दुई वर्षसम्मका लागि र अरु तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी पुतलीसडक तीन वर्षसम्म कालोसूचीमा परेको छ । भारत कन्सट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति दिपेन्द्रबहादुर शाही छन् ।

यसैगरी मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वर दुई वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा/हेना/सुनामी जेभी विदुर–७ नुवाकोट एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका मुख्य व्यक्ति गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति  पोष्टबहादुर बोगटी छन् ।

यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र हरिराम बोहरा मुख्य व्यक्ति भएको इजोन निर्माण सेवा पनि एक/एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस