किसानको छोरा हुँ, किसानका लागि काम गर्छु : मन्त्री भुसाल

रासस

शनिबार, ०९ मंसिर २०८०, १९ : ३८
किसानको छोरा हुँ, किसानका लागि काम गर्छु : मन्त्री भुसाल

लुम्बिनी । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले किसानको समस्यासँग आफू अवगत रही किसानका लागि काम गरिरहेको दाबी गरेका छन् ।

मर्चवारको कोटहीमाई-४ तुनिहवामा निर्मित बीउको भण्डारण तथा प्राथमिक प्रशोधन उद्योगको आज उद्घाटन गर्दै मन्त्री भुसालले सरकार कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न लागेको बताए । ‘मुलुकको अर्थतन्त्रको मेरुदण्ड कृषि हो, कृषि हाम्रो जीवनसँग जोडिएको छ’, मन्त्री भुसालले भने, ‘कृषि सबैका लागि प्राथमिकताको विषय भएकाले अहिलेको सरकार कृषि उत्पादनमा वृद्धि गर्न चाहन्छ ।

उनले कुनै पनि संरचना निर्माण गर्नुभन्दा त्यसको नियमित र व्यावहारिक सञ्चालन हुनु महत्त्वपूर्ण भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्दै कृषिबाट उन्नति गर्न औजारीकरण आवश्यक भएको बताए । सरकारले यो वर्ष चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गरेको बताउँदै उनले भने, ‘जुन प्रदेशबाट जुन हिसाबले माग भएको थियो, त्यही हिसाबले पठाइएको छ । मलको समस्या छैन ।’

उनले ‘प्रधानमन्त्री गहुँजोन’लाई सरकारले निरन्तरता दिइने बताए। ‘अब देशमा दक्ष र प्राविधिक जनशक्ति उत्पादन हुनेछन् । देशलाई यान्त्रीकरण तथा कृषि औद्योगीकरणतर्फ लग्दै हामीले हाम्रा कृषि उत्पादन पुनः भारतलाई बेच्न सक्षम हुनेछौँ’, उनले भने।