तीनकुनेमा आन्दोलनकारीभन्दा प्रहरी र पत्रकार धेरै

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, १३ : ००
तीनकुनेमा आन्दोलनकारीभन्दा प्रहरी र पत्रकार धेरै

काठमाडौं। दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्ने भनिएको काठमाडौंको तीनकुनेमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशासनले अनुमति नदिए पनि तीनकुनेमै प्रदर्शन गर्ने अडान लिएको समूहका समर्थकहरू भने त्यहाँ पुग्न सकेका छैनन् ।

 

तीनकुनेमा प्रहरी र समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरूको संख्या ठूलो छ । तर, प्रदर्शनकारी भने खासै देखिएका छैनन् । केही पुगेकालाई पनि प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई भ्यानमा हालेर प्रहरी लगिएको छ । पक्राउ परेकाहरूको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।अभियानका संयोजक प्रसाई भक्तपुरस्थित घरमै छन् । उनको घरमा प्रहरीले सुरक्षा तैनाथी बढाएको छ ।प्रसाईं नेतृत्वको महाअभियानले जसरी पनि काठमाडौंको तीनकुनेमै प्रदर्शन गर्ने अडान लिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएको छैन ।बिहीबार तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो भने प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरेको थियो । तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाब उत्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस