पाकिस्तान पाँचौँ स्थानमा सीमित, च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डको स्थान पक्का

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, ०९ : ११
पाकिस्तान पाँचौँ स्थानमा सीमित, च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डको स्थान पक्का

काठमाडौं । साविक विजेता इङ्ल्यान्डले पाकिस्तानमाथि ९३ रनको जित निकाल्दै भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको सुखद अन्त्य गरेको छ । यो हारसँगै पाकिस्तान भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

शनिबार कोलकातास्थित इडेन गार्डेनमा इङ्ल्यान्डले प्रस्तुत गरेको ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा समेटियो ।

पाकिस्तानका आघा सल्मानले ४५ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले ३८, मोहम्मद रिजवानले ३६, हरिस रौफले ३५, साउद सकिलले २९, शाहिन शाह अफ्रिदीले २५ रन र मोहम्मद वासिमले अविजित १६ रन बनाए । 

इङ्ल्यान्डका डेविड विलीले तीन विकेट लिए । गस एट्किन्सन आदिल राशिद र मोइन अलीले सामना दुई विकेट लिए । क्रिस बोक्सले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३३७ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका बेन स्टोक्सले ७६ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक ८४ रन बनाएका थिए । जोय रुटले ६० रन थपे ।

जोनी बेरिस्टोले ५९, डेविड मलानले ३१, ह्यारी ब्रुक्सले ३०,कप्तान जोस बट्लरले २७ र डेविड विलीले १५ रन बनाए ।

पाकिस्तानका हरिस रौफले तीन विकेट लिए । मोहम्मद वासिम र शाहिन शाह अफ्रिदीले समान दुई विकेट लिदा इफ्तिखर अहमदले एक विकेट लिए ।

पाकिस्तानको हारसँगै न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो । जितसँगै नौ खेलमा ६ अंक जोडेको इङ्ल्यान्डले तालिकाको सातौं स्थानमा रहदै च्याम्पियन्स ट्रफीमा स्थान पक्का गरेको छ । हारसँगै समान खेलमा आठ अंक जोडेको पाकिस्तानले पाँचौँ स्थानमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस