कागको संख्या घट्दै गयो : रमेश दुलाल ‘कागे’

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, ११ : १२
कागको  संख्या घट्दै गयो : रमेश दुलाल ‘कागे’

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रूपमा शुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर काठमाडौँको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । आज काग तिहारको अवसर पारेर आयोजित २० औँ काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको संख्या घट्दै गएको बताएका छन् ।

उनले भने, ‘कागको संख्या पहिले जस्तो धेरै छैन । पहिला चार हजारसम्म कागै काग हुन्थे, यसपालि कागको संख्या खासै छैन । पहिलेको तुलनामा धेरै घटेको छ । धेरै काग मरेछन्, पहिलेजस्तो ठूलो संख्यामा काग जम्मा हुँदैनन् ।’

त्यस्तै उनले कागले शुभ अशुभ खबर ल्याउने तथा आफैँलाई आपत् पर्दा निकाल्ने स्वर फरक हुने बताए । आज उनले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा २०औँ काग सम्मेलन सम्पन्न गरेका छन् । दुलालले विगत २० वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।

Tags :  

प्रतिक्रिया दिनुहोस