प्रधानमन्त्रीद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १० : ५९
प्रधानमन्त्रीद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

फाल्गुनन्दको जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेर उनले सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिएको मार्गनिर्देश अनुशरणीय रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले समाज सुधारक फाल्गुनन्दले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उनको उपदेशको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् । फाल्गुनन्दले अगाडि सारेको समाज सुधारका महत्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष किरात धर्मावलम्बीका लागि मात्र नभई सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय रहेको उनले बताएका छन् ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि निर्वाह गरेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस