भारतबाट भित्रिने खसी–बोका रोक्न माग

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, ०८ : २७
भारतबाट भित्रिने खसी–बोका रोक्न माग

काठमाडौं । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । आज पत्रकार सम्मेलन गर्दै महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ । 

सरकारले किसानलाई उचित अनुदानको व्यवस्था गर्न नसक्दा अहिले खसी–बोकाबाट घाटा व्यहोर्नुपरेको महासङ्घको भनाइ छ । साथै, अवैध रुपमा भित्र्याइने भारतीय खसी बोकाका कारण सङ्क्रामक रोगको मारमा किसान पर्ने गरेका छन् । 

नेपाली बजारमा भारतीय खसी बोकाको मासुले प्रश्रय पाउँदा किसान मारमा परेका छन् । यसले नेपालको अर्थतन्त्रमा समेत असर परेको महासङ्घको भनाइ छ ।

बाख्रापालक किसानलाई राज्यले उचित अनुदानको व्यवस्था गर्नुपर्ने, पेसाको विस्तार, ऋण सुविधा, सरकारी तहबाट किसानका लागि उच्च जातका बोका, पाठीहरु वितरण कार्यलाई अभियानको रुपमा सञ्चालन गरिनुपर्ने माग पत्रकार सम्मेलनमा गरिएको छ । 

कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द सुवेदीले अवैध रुपमा भित्रिने खसी बोकाका कारण मूल्य नपाएको बताए  । नेपालमा खसी बोकाको मासुको मूल्य बढाउने मनसाय नभएको उनले बताए ।

त्यसका लागि कसरी लागत घटाउन सकिन्छ भनेर सरकारले सोच्न आवश्यक रहेको सुवेदीको भनाई छ । कार्यक्रमका अर्का वक्ता तारानाथ पोखरेलले भारतबाट भित्रिने खसी–बोका रोक्न सरकारसँग आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस