राष्ट्रिय फुटबल टोलीको घोषणा

सोमबार, ११ भदौ २०७५, २० : ५८
राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौँ । बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको आज घोषणा गरिएको छ । 

नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोली छनोट गर्नुभएको हो । 

टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । 

च्याम्पियनसीपको समूह ‘ए’ मा नेपालसहित आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् । नेपालले भदौ १९ मा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । 

यसअघि भएको साफ च्याम्पियनसीपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । भदौ ३० गतेसम्म हुने च्याम्पियनसीपको समूह ’बी’ मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स छन् । 

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । रासस

प्रतिक्रिया दिनुहोस