भरतपुर महानगरपालिकाद्वारा स्मार्ट सिटी निर्माणका लागि प्राविधिकलाई तालिम

सोमबार, ११ भदौ २०७५, १५ : ४९
भरतपुर महानगरपालिकाद्वारा स्मार्ट सिटी निर्माणका लागि प्राविधिकलाई तालिम

चितवन । भरतपुर महानगरपालिकाले स्मार्ट सिटी निर्माणका लागि संरचना तयार गर्न आफ्ना प्राविधिकहरुलाई जीआइएस तालिम सुरू गरेको छ ।

जीआइएस अन्र्तगत महानगरपालिकाभित्र रहेका बाटोको स्तर, यसको अवस्था, महानगरपालिकाको घर, नक्सा, घरको अवस्था, प्रति परिवार संख्या, व्यक्तिगत विवरण, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, प्राकृतिक विपत्ति, उद्धार लगायतका विषयवस्तुसँग जोडिएका तथ्यांकलाई डिजिटल प्रणालीमा सञ्चालन गर्न सकिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताउनु भयो । यस सम्बन्धी विज्ञहरूलाई आमन्त्रण गरेर महानगरपालिकामा कार्यरत प्राविधिकहरूलाई पाँचदिने तालिमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाका सम्पूर्ण विषयवस्तुलाई  डिजिटल डाटाबेसमा आवद्ध गरेर सोही बमोजिम विकास गर्ने लक्ष्य लिइएको बताउँदै उहाँले अबको विकास डाटाबेसमै हुनुपर्ने बताउनु भयो । यस तालिमले सबै कुरा अहिले नै आउँछ भन्ने नभएपनि यसको सुरूवात भने राम्रो भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो ।

भरतपुर महानगरपालिका जीआइएस डाटा प्रणालीका आधारमा योजनावद्ध विकास गर्न अगाडि बढिरहेको छ  । महानगरीय गुरूयोजनाको तयारीमा भरतपुर महानगरपालिका रहेको अवस्थामा महानगरको समग्र विकासमा यो तालिम महत्वपूर्ण हुने भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्यप्रकाश लामाले बताउनु भयो ।

यस प्रणालीलाई अवलम्बन गर्दै पूर्वाधार, सामाजिक विकास, सडक, बजार विकास र बिस्तार आधुनिक प्लानिङ्ग र राजस्व संकलनमा पनि सहयोगी हुने महानगरपालिकाले विश्वास लिएको छ । तालिममा महानरपालिकाका प्राविधिक र विभागीय प्रमुख गरी २० जना सहभागी रहेका छन् । सहभागीहरूलाई  यस सम्बन्धी विज्ञहरू दामोदर ढकाल र टंक दाहालले तालिम प्रदान गर्नु हुनेछ ।

तालिम लगत्तै महानगरपालिकाले जीआइएस प्रणालीलाई कार्यान्वयनमा ल्याउनेछ । यसको सुरूवातसँगै  महानगरपालिकाका सम्पूर्ण गततिविधि र जानकारीहरू डिजिटल प्रणालीमा प्राप्त गर्न सकिने छ । यस आधारमा महानगरपालिकाका पूर्वाधार व्यवहारिक, वैज्ञानिक र व्यवस्थित हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस