नरपूर्ण साहित्यिक गुठीद्वारा शर्मा र प्रधानलाई सम्मान

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १२ : ५६
नरपूर्ण साहित्यिक गुठीद्वारा शर्मा र प्रधानलाई सम्मान

दार्जिलिङ । दार्जिलिङस्थित नरपूर्ण साहित्यिक गुठीले अभिव्यक्ति पत्रिकाका संस्थापक सम्पादक साहित्यकार नगेन्द्रराज शर्मा तथा साहित्यकार शरद प्रधानलाई सम्मान गरेको छ । गुठीका संरक्षक एनबी क्षेत्री तथा नेपाली साहित्य सम्मेलनका पूर्वअध्यक्ष साहित्यकार प्रेम प्रधानले उनीहरूलाई सम्मान गरेका हुन् । 

कार्यक्रममा नेपाल स्रष्टा समाजका साहित्यकारहरूलाई पनि अतिथिको रूपमा सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार डा. गीता क्षेत्रीद्वारा लिखित दृश्यानुभूति (विविध विधाको रचना सँगालो) र डा. नकुल क्षेत्रीद्वारा सम्पादित भारतीय नेपाली साहित्यको सय वर्ष शीर्षकका पुस्तकसमेत लोकार्पण गरिएका थिए । 

उक्त कार्यक्रममा नेपाली प्रतिनिधिका तर्फबाट नगेन्द्रराज शर्मा, समाजका संरक्षक पवन आलोक, अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, महासचिव देविका तिमिल्सिना तथा शरद प्रधानसहितले सम्बोधन गरेका थिए । आयोजक संस्थाकातर्फबाट लोकार्पित कृतिका स्रष्टाद्वय डा. गीता क्षेत्री, डा. नकुल क्षेत्री, कृतिका परिचर्चाकार डा. राजकुमार क्षेत्री,  डा. सानु लेप्चा र डा. कमला तामाङले आआफ्नो विचार व्यक्त गरेका थिए । 

कार्यक्रमको सभापतित्व एनबी क्षेत्रीले गरेका थिए भने सञ्चालन स्रष्टा कमल रेग्मीले गरेका थिए । नेपाली साहित्यकारको टोलीमा शर्मा, आलोक, रोदन, तिमिल्सिनाका अतिरिक्त चेतनाथ कँडेल ‘हरित’, प्रकाश घायल, तारा सुवेदी, डा. शान्तिमाया गिरी,  शङ्कर भारती, मधु पाठक तथा माधव बिडारी ‘चेतनपथ’ लगायत एघार जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस