कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणका वास्तविक दोषी अझै कानुनी कारबाहीमा आइसकेका छैनन् । यसअघि मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्ट नै दोषी छन् भन्ने थप प्रमाणहरु केही भेटिएको पनि छैन, जसले गर्दा निर्मला हत्या प्रकरणको दोषी भीआईपी छन् भन्ने पुष्टि हुँदै गएको छ ।
निर्मला हत्या प्रकरणका ६ सन्दर्भ यस्ता छन्, यसअघि यस विषयमा प्रहरीले कुनै अनुसन्धान नै गरेन । त्यसैले अभियुक्त विष्ट दोषी छैनन् भन्ने शंका बढी उव्जियो । यी ६ सन्दर्भमा प्रहरीले पहिले नै अनुसन्धान केन्द्रित गरेको भए घटनाका दोषी पत्ता लाग्न सक्ने बलियो आधार थियो । तर त्यो हुन नसक्दा आज प्रहरी शंकाको घेरामा छ । घटनाको दोष भीआईपीतर्फ सोझिँदै छ ।
सन्दर्भ १
पोइला गई होली भनेर किन भनियो ?
निर्मलाकी साथी हुन् रोशनी बम । दुबै कक्षा ९ मा पढ्छन् । निर्मलाको घरभन्दा २ किमी टाढा उनको घर छ । निर्मलाकी आमाको कञ्चनपुर भीमदत्त–१८ उल्टाखाममा चनाचटपटे पसल छ । रोशनी निर्मलाभन्दा ५ वर्ष जेठी छ । रोशनीको दिदी बबिता झन जवान छे । रोशनीले एकदिन निर्मलाको घरमा आएर चटपटे उधारो खाएर पैसा लिन बोलाइन् । बिज्ञानको नोट पनि बनाउनुछ आउ भनेर डाकिन् ।
नोट बनाउन र पैसा लिन साउन १० गते बिहान ११ बजे निर्मला साइकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । साँझसम्म पनि निर्मला नफर्केपछि निर्मलाकी आमा छोरी खोज्दै रोशनीको घर पुग्छिन् । निर्मला खोई ? भनी सोध्दा रोशनीका दिदी बबिताले ‘तिम्री छोरी त २ बजे नै यहाँबाट हिँडेकी हुन् । अम्बा पनि लगेकी छिन् । अहिलेसम्म घर नपुगेकी भए पोइल गई होला’ भन्ने जवाफ दिइन् । बबिताले यस्तो जवाफ दिएपछि निर्मलाकी आमा छांगाबाट खसेजस्तो भइन् । निर्मलाकी आमा घरभित्र जान खोजिन् तर भित्र जानै दिइएन । यो घर नै शंकाको घेरामा छ, तर यो घरबाट प्रहरीले किन अनुसन्धान गरेन ? विषय पेचिलो र रहस्यमय बन्दै गएको छ ।

सन्दर्भ २
प्रहरीले उही दिन किन जाहेरी लिएन ?
साउन १० गते साँझ ८ बजेसम्म पनि छोरी फेला नपारेपछि निर्मलाकी आमामा असह्य पीडा भयो । के गरुँ र कसो गरुँ भयो । चारैतीर अन्धकारमात्र देख्न थालिन् । रोशनीको घरबाट ‘पोइला गई होली’ भन्ने सहनै नसक्ने जवाफ आयो । त्यसपछि उनी हानिएर प्रहरीकहाँ पुगिन् । तर प्रहरीले खाना खाइसकेर सुत्ने बेला भएकाले उजुरी लिन नै इन्कार ग¥यो । आज उजुरीकै इन्कारका कारणले गर्दा निर्मला हत्या प्रकरणमा प्रहरी नै शंकाको घेरामा परेको छ । प्रहरीकै भीआईपी मान्छेहरु निर्मला हत्या प्रकरणमा संलग्न त छैनन्, आशंकाहरु जन्मिसकेका छन् ।
निर्मलाको परिवार गरिब छन् । निर्मलाकी बुबाआमा ज्यालामजदुरी गर्छन् । प्रहरीले उजुरी लिनै नमानेपछि गरिब भएर होला भन्दै रातभर निर्मलाकी आमा रुँदै बसिन् । एक पल पनि निदाउन सकिनन् । छोरी हराएको पीडाले उनलाई मुर्छित बनायो । प्रहरीले न्याय नदिने देखेपछि निर्मलाकी आमा छिमेकीसँग हारगुहार गरिन् ।
सन्दर्भ ३
एकैचोटी लासको प्रसंग
प्रहरीले उजुरी लिन नमानेपछि निर्मलाकी आमा छिमेकीसँग हारगुहार गरिन् । स्थानीय छिमेकी मिलेर रोशनीको घरमा गए । भीड जम्मा हुँदै थियो, एकजनाले साइकल भेटियो भन्दै आयो । त्यतिबेला रोशनीकी दिदी बबिताले ‘साइकल भेटियो भने लास पनि त्यही होला नि’ भनी । केही समयपछि लास पनि साइकल भेटिएको नजिकै व्यक्तिको निजी उखुबारीमा भेटियो । बबितालाई लासबारे कसरी ज्ञान हुन सक्छ ? पोइला गई होली भन्नेले भोलिपल्ट लास त्यहाँ होला भनेर कसरी भन्न सक्छिन् ? यो विषयमा प्रहरीले किन अनुसन्धान गर्न मानेन ? यो विषयमा अनुसन्धान नै नगर्ने प्रहरीले किन मानसिक सन्तुलन बिग्रेको मान्छेलाई दोषी भन्दै उभ्याउँछ ? अब शंका कतातिर गर्ने ?
सन्दर्भ ४
अम्बाको बोट किन काटियो ? घरमा किन रंग दलियो ?
निर्मलाको लास उखुबारीमा भेटियो । पुस्तक पनि भेटियो । अघिल्लो दिन रातभर पानी परेको थियो । तर भेटिएको पुस्तक भर्खर पढ्नलाई पल्टाइएको जस्तो देखिन्थ्यो । किताबमा एक थोपा पानी थिएन । निर्मला घर जाँदा अम्बा लिएर गएकी हुन् भनियो । लास पूरा पानीले भिज्नु, तर किताबमा थोपा पानी नपर्नुको कारण के हुन्छ ? निर्मलाको लाससँग केही अम्बा भेटिएको थियो, तर रोशनीको घरमा अम्बाको बोट काटिएको थियो । घटना भएको केही दिनपछि अम्बाको रुख काटिएको स्थानीय बताउँछन् । किन काटियो अम्बाको रुख ? घटना घटेको एक सातापछि कोठामा रोशनीको दिदी बबिताले रंग लगाएकी छे । जब कि घटनाले ठूलो रुप लिँदै थियो, बबिताको घरको अनुसन्धान गर्नुपर्छ भनेर स्थानीय भन्दै थियो, त्यो बेला बबिताले किन घरको कोठामा रंग लगाइन् ? यो विषय पनि अनुसन्धान हुनुपर्छ भन्दै स्थानीय भनिरहेका छन् । तत्काल प्रहरीले यसतर्फ ध्यान किन दिएन ?
सन्दर्भ ५
किन बनाइयो मानसिक सन्तुलन ठीक नभएकोलाई अभियुक्त ?
प्रहरीले घटना घटेको २५ दिनपछि मानसिकि सन्तुलन ठीक नभएको दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै दोषी देखायो । स्थानीयले पत्याएनन् । मान्छे देख्दा भाग्ने, दिएको खानेकुरा पनि राम्ररी खान नजान्ने दोषी हुन नसक्ने भन्दै आन्दोलन चर्काए ।
घटनाको एक सातामा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । ती दुई पनि शारीरिक र मानसिक रुपमा ठीक नभएका व्यक्ति थिए । एकजना अझ एचआईभी संक्रमित थिए । प्रहरीले बलात्कार पछि हत्या गरिएको जस्तो जघन्य अपराधमा मानसिक अबस्था बिग्रिएकालाई मात्रै किन अभियुक्त बनाउन खोज्यो ? अभियुक्त भनिएका बिष्ट र घटनाको एक सातामा नै समातिएका तीनै जना शारीरिक र मानसिक अवस्था बिग्रिएका भेटिनु संयोग मात्रै हो ? प्रहरीले किन मानसिक सन्तुलन ठीक नभएकोलाई पटकपटक दोषी भन्दै ल्यायो ? यो तर्फ अबको अनुसन्धान सोझिनुपर्छ ।
सन्दर्भ ६
२४ दिनपछि कसरी भेटियो गोजी र कण्डम ?
घटनाको भोलिपल्ट निरीक्षण गर्दा शव, किताब र साइकल भेटिएको थियो । तर घटनाको २४ दिनपछि सर्टको च्यातिएको गोजी प्रहरीले फेला परेको जनाएको छ । सोही ठाउँमा प्रयोग गरिएको कण्डम पनि भेटियो । यो कसरी हुन्छ ? तत्काल केही नदेखिने, २४ दिनपछि कण्डम र गोजी कसरी भेटिन्छ ? अभियुक्तका रुपमा पक्राउ परेका दिलिपसिंह बिष्टका परिवारले घटना स्थलमा जुन सर्टको टुक्रा भेटिएको भनिएको छ, त्यो सर्ट प्रहरीले बिष्ट पक्राउ परेपछि मात्रै घरबाट लगेको भनेपछि प्रहरीमाथि नै झन् बढी शंका उव्जेको छ ।
प्रतिक्रिया दिनुहोस