जाजरकोट भूकम्प : आकस्मिक बैठकले उद्दार, उपचार र राहतबारे के–के गर्यो ?

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १५ : ३३
जाजरकोट भूकम्प : आकस्मिक बैठकले उद्दार, उपचार र राहतबारे के–के गर्यो ?

काठमाडौँ । जाजरकोट भूकम्पपछि सरकारले भूकम्पपीडितको उद्दार, उपचार र राहतबारे विभिन्न निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्दार निकायको प्रतिनिधित्व भएको सरोकारवालाहरूको आकस्मिक बैठकले विभिन्न निर्णय गरेको हो । 

जसअनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार राहत तथा उपचारलाई पहिलो प्राथमिकता दिईने भएको छ ।  गृहमन्त्री श्रेष्ठका अनुसार घाइतेको तत्काल औषधि–उपचारका लागि आवश्यक औषधी तथा विशेषज्ञ चिकित्सकसहितका जनशक्ति तत्काल परिचालन गर्ने र उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।  सो कार्यको नेतृत्व तथा व्यवस्थापन स्वास्थ्य तथा जन संख्यामन्त्रालयले गर्ने निर्णय भएको छ । 

यसैगरी प्राथमिक राहत व्यवस्थापनका लागि खानपान, अस्थायी आवास ९टेण्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लीपिङ ब्याग आदी० सुर्खेत, नेपालगञ्ज र काठमाडौमा रहेका भण्डारणबाट भूकम्प प्रभावित जिल्लाको आवश्यकताका आधारमा तत्काल वितरण तथा परिचालन गर्ने निर्णय भएको छ । 

यस्तै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा ५–५ करोड रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निणएय भएको पनि श्रेष्ठले बताए । 

यसैगरी सुरक्षा फौजबाट विपद् उद्धारका लागि आवश्यक सामाग्री सहितका जनशक्ति खटाइएकोमा सशस्त्र प्रहरी बल नेपालबाट उद्धार तथा व्यवस्थानको लागि विशेष तालिम प्राप्त टोली पठाउने निर्णय पनि भएको छ । 

खोज उद्दार र सहयोगका लागि विदेशी राष्ट्र तथा नियोगबाट प्राप्त प्रस्तावप्रति धन्यवाद व्यक्त गर्दै थप सरकारले विवरण र क्षतिका आधारमा आवश्यकतानुसार सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ । 

 सहयोगमा एकद्वार प्रणाली अपनाउने र अवरुद्ध सडक तत्काल खुलाउन सडक विभागले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि भएको छ।