विद्यानाथ उपाध्यायले पाए षडानन्द राष्ट्रिय पुरस्कार

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १९ : १६
विद्यानाथ उपाध्यायले पाए षडानन्द राष्ट्रिय पुरस्कार

काठमाडौँ । २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार पूर्वीय दर्शनका विद्वान्, तन्त्र र योगका साधक प्राध्यापक विद्यानाथ उपाध्यायलाई दिने निर्णय भएको छ।

नव्यन्याय विषयमा आचार्य उपाधि प्राप्त प्राध्यापक विद्यानाथ उपाध्याय, भट्टले तत्कालीन नेपाल राजकीय संस्कृत महाविद्यालयमा नियुक्त भई आफ्नो शिक्षक जीवन सुरु गरेका थिए। उक्त महाविद्यालय त्रिभुवन विश्वविद्यालयमा समाहित भएपछि उनी त्रिवि अन्तर्गत संस्कृत अध्ययन संस्थानको सहायक डिन तथा डिन समेत भए।

पछि महेन्द्र संस्कृत विश्वविद्यालय गठन भएपछि उनी उक्त विश्वविद्यालयको शिक्षाध्यक्ष भए। पूर्वीय दर्शनका विशिष्ट विद्वान् प्राध्यापक भट्ट तन्त्रशास्त्र तथा योगका ज्ञाता, व्याख्याता तथा सफल साधक हुन्।

८३ वर्षीय प्राध्यापक भट्ट हाल अध्यात्म साधनामा समर्पित छन्।यो पुरस्कार पूर्वाञ्चलको भोजपुर, दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पुर्‍याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा स्थापना गरिएको हो। पुरस्कारको राशि १ लाख रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस