एनआरएनएमा धाँधली : पूर्वअध्यक्ष जीवा लामिछानेको अर्थपूर्ण सन्देश !

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, १६ : ००
एनआरएनएमा धाँधली : पूर्वअध्यक्ष जीवा लामिछानेको अर्थपूर्ण सन्देश !

काठमाडौँ । सिस्टम ह्याक गरेर एक साताअघिको निर्वाचनमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न बद्री केसी पक्ष सफल भएपनि एनआरएनएमा भने कालो बादलको अवस्था सिर्जना भएको छ । रोचक कुरा त के छ भने विगतमा आफूले मलजल गरेका बद्री केसीलाई नै यो पटक संस्थापक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले साथ दिएनन् । उनले निर्वाचनमा कांग्रेस निकट उम्मेदवार महेश श्रेष्ठलाई साथ दिएका थिए । चुनावमा सिस्टम नै ह्याक गर्नेसम्मको हर्कत भएपछि सार्वजनिक रुपमा जीवा लामिछानेले मुख नखोलेपनि उनले निकटस्थहरुलाई बद्रीको कार्यशैलीप्रति कटाक्ष गर्ने गरेका छन् । आफैँले हुर्काएको एनआरएनए अहिले तीन टुक्रा भएपनि जीवा अब कसरी एकीकृत एनआरएनए बनाउने भन्नेमा गम्भीर बनेका छन् ।

साथसाथै बद्रीको हर्कत पछि आरके शर्मा र महेश श्रेष्ठ एकठाउँमा भएसँगै जीवाले उनीहरुलाई नै साथ दिइरहेका छन् । जसका कारण बद्री केसी समूह आत्तिन पुगेको छ । एकातिर सरकारी निकायमा चुनावमा भएको भनिएको धाँधलीको विषय साइबर अपराधको दाबी सहित साइबर ब्युरोमा उजुरी पर्नु तथा परराष्ट्र मन्त्रालयमा पनि आरके शर्माले आधिकारिकताको दाबीसहित निवेदन दिनुले बद्री केसी समूहको निद हराम भएको छ । सबै विधि र पद्धति पुर्याएर आरकेलाई अध्यक्ष चयन गरिएपनि बद्रीले पदलाई मात्रै प्राथमिकतामा पारेर दुई तिहाइलाई बेवास्ता गर्दै शपथ लिएका थिए । उनले शपथ लिएपनि महाधिवेशनको बन्दसत्रबाट गर्नुपर्ने कामहरु गरेनन् । निर्वाचन समितिलाई समेत स्वतन्त्र ढंगले काम गर्न नदिएका बद्रीक कारण नै आरके र महेश श्रेष्ठ मिलेर बाँकी प्रक्रिया सम्पन्न गर्दै दुई जनाबीच आरकेलाई अध्यक्ष बनाउने समझदारी बनेको थियो । सोहीअनुसार एक साताअघि राजधानीको होटल हिमालयमा महाधिवेशनका बाँकी प्रक्रिया पुरा गर्दै आरके अध्यक्ष बनेर आफ्नो कामकारबाही अघि बढाएका थिए ।

आरके नेतृत्वको एनआरएनएमा झण्डै दुई तिहाइको प्रतिनिधित्व भएको दाबी गरिएको छ । स्पष्ट रुपमा ११ औँ विश्व सम्मेलनबाट दुई एनआरएनए बनेको अवस्थामा सरकारले अब कसलाई आधिकारिकता दिन्छ त्यो पछिको विषय भएपनि सबै प्रक्रिया पुरा गरेको कारणले आरकेले नै मुलधारको मान्यता पाउने सम्भावना रहेको एनआरएनए अभियन्ताहरु बताउँछन् । उसो त १० औँ महाधिवेशनबाटै विनोद कुवरको नेतृत्वमा नयाँ एनआरएनए बनिसकेको थियो । अहिले तीन वटा एनआरएनए बनिसकेको अवस्थामा यसबारे विभिन्न टिकाटिप्पणी हुनुका साथै एनआरएनएको शाखमा समेत धक्का पुगेको सन्दर्भमा एनआरएनएका पूर्व सल्लाहकार सुरेन्द्र नेपाल श्रेष्ठले एक प्रतिनिधिमूलक टिप्पणी गरेका छन् । उनले निर्वाचन हार र जित मात्र नभएको भन्दै यदि निर्वाचनमा नियत र विश्वसनीयतता ठीक भएन भने जुनसुकै परिणाम पनि स्वीकार गर्नै पर्छ भन्ने बाध्यता नहुने बताएका छन् । उनले यो निर्वाचनमा धाँधली भएको ठहर गर्दै यही हुन्छ भन्ने आशंकामा दुई वर्ष अगाडि पनि निर्वाचन हुन नसकेको दाबी गरेका छन् । तर, विद्रोह गर्न पर्छ भन्नेहरु नै अडिग रहन नसकेको स्मरण गर्दै उनले सहमतिको नाममा जग हँसाइएको बताएका छन् । त्यतिबेला कुल आचार्यले सहमतिको नाममा तीन अध्यक्ष स्वीकार गरेर आफू पनि अध्यक्ष बनेका थिए । तर, एनआरएनए जोगिन सकेको थिएन । ‘बिनोद कुँवरको नेतृत्वमा फरक समिति बन्यो । यस पटक हामीले अन्तिम अवस्थासम्म एकताको प्रस्ताव राखेका थियौं । तर त्यो सम्भव भएन । प्रचार प्रसारमा हामी सबल भयौं । नतीजा हाम्रो पक्षमा आउन पर्छ भन्ने थियो। परिणाम सही थिएन भन्ने निर्वाचन आयोग र तीन अध्यक्षहरुले नै स्वीकार गर्यो’, नेपालको भनाइ छ, ‘यथेस्ट जाँचबुझ नगरी भेरो भोटिङसँग भएको सवाल जवाफलाई मात्र आधार बनाएर शपथ ग्रहण गर्यो। त्यस पछि हामीले संस्था फुट होला भनेर नयाँ समिति नबनाएको भए हाम्रो सक्रियतामा कमी आउने, तीन महीना त्यतिकै जाने र भेरोसँग भएको सब डिटेलहरु डिलीट् हुने थियो । हामीले निवेदन मात्र दिएको भरमा सरकारले मान्यता नदिने भन्न कठिन हुने थियो । विद्रोहमा सब विद्यमान विधि विधान अनुसार हुन्छ भन्न सकिन्न ।’

अब विविध विषयहरु प्रवेश हुने भन्दै उनले त्यसका लागि बलियो आधार निर्माण गर्न समानान्तर समिति निर्माण गर्न आवश्यक भएको उनको दाबी थियो । ‘अब छिटो भन्दा छिटो भेरो भोटिङका सैद्धान्तिक र व्यवहारिक पक्षको मिहिन रूपमा विश्लेषण गर्न आवश्यक छ । तीन तिर फर्केकाहरुलाइ एक ठाउँमा ल्याउन कोशिश गर्न पर्छ ।’ श्रेष्ठको यो अभिव्यक्तिलाई जीवाले सामाजिक सञ्जालमार्फत स्वीकार गर्दै टिप्पणी गरेका छन् । जीवाले भनेका छन्, ‘तीनतिर फर्केकाहरुलाई एक ठाउँमा ल्याउन कोशिश गर्न पर्छ–सहमत !’ जीवाको यो भनाइ अर्थपूर्ण रुपमा हेरिएको छ । पहिलो उनले चुनावमा धाँधली भएको स्वीकारेका छन् भने अर्को बद्री केसीको उनलाई साथ छैन । एनआरएनएभित्र प्रभावशाली मानिने जीवाको सक्रियता बढेमा केसी थप संकटमा पर्ने त छन् नै यसले संस्थाको भविष्य पनि निर्धारण हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस