काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिक फेसबुक पेज राजनीतिक दलको भ्रातृ संगठनको प्रचार गर्ने माध्यम बनेको पाइएको छ।
विश्वभरका नेपालीहरूको साझा र गैरराजनीतिक संस्थाको रूपमा चिनिएको एनआरएनएले राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमको पोस्टर आफ्नो आधिकारिक पेजबाट सेयर गरेपछि संस्थाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको हो। उक्त पेज एनआरएनएकै बद्री केसी समूहको नियन्त्रणमा छ । जवकि केसी पक्षले एमाले र सो पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीको आडभरोसामा अवैधानिक रुपमा गतिविधि गर्दै आएको आरोप छ । एनआरएनएको एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्ष चयन भइसक्दा केसीले आफूलाई नै सत्ताको आडमा गतिविधि गर्दै आएका हुन् ।
अहिले सोही समूहको नियन्त्रणमा रहेको फेसबुक पेजमा ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ नामक कार्यक्रमको पोस्टर पोस्ट गरिएको छ। उक्त पोस्टरमा आयोजकको रूपमा राष्ट्रिय युवा संघ नेपाल लाई स्पष्ट रूपमा देख्न सकिन्छ, जुन नेकपा (एमाले) को भ्रातृ संगठन हो।
अझ रोचक त के छ भने, कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर र नामलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। यसले कार्यक्रम प्राविधिक भए पनि यसको आयोजक र अतिथिहरूको राजनीतिक पृष्ठभूमि स्पष्ट पार्छ।
यो घटनापछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू र एनआरएनएका सदस्यहरूले संघको नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले 'एनआरएनए सबैको साझा संस्था हो कि कुनै पार्टीको भ्रातृ संगठन?' भन्दै प्रश्न उठाएका छन्। कतिले त 'बद्री केसीको एनआरएनए युवा संघको कब्जामा गएको हो?' भन्दै व्यंग्यात्मक टिप्पणीसमेत गरेका छन्।
एनआरएनएको विधानले संस्थालाई कुनै पनि राजनीतिक दल, धर्म वा जातीय संगठनबाट अलग र स्वतन्त्र रहने परिकल्पना गरेको छ। तर, संस्थाको आधिकारिक सामाजिक सञ्जाल नै एउटा राजनीतिक दलको भ्रातृ संगठनको कार्यक्रम प्रचारका लागि प्रयोग हुनुले यसको मूल मर्म र उद्देश्यमाथि प्रहार भएको विश्लेषकहरू बताउँछन्।
यस घटनाले एनआरएनएको वर्तमान नेतृत्व आफ्नो संस्थागत मूल्य, मान्यता र तटस्थता कायम राख्न चुकेको हो कि भन्ने आशंकालाई बल पुर्याएको छ। सबै गैरआवासीय नेपालीहरूको साझा चौतारीको रूपमा स्थापित एनआरएनएले कुनै एक राजनीतिक पक्षधरता देखाउँदा यसको गरिमा र विश्वसनीयतामा आँच आउन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। यसबारे बद्री केसी पक्षका प्रवक्ता फणीन्द्र पन्तलाई प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।
स्मरण रहोस् एनआरएनएको कार्यालयसम्बन्धी विवादमा विगतमा युवा संघको प्रयोग गरेर बेल्जियमका अभियन्ता ओम शर्मा कुटिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ साउन २०८२, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?