संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०८२, २० : ०३
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय बनेको छ । संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले सिंहदरबार बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु गर्दै ‘संकटको घडीमा मातृभूमिप्रति सहारा’ बन्ने सन्देश दिएको छ ।

गत भदौ २३–२४ को आन्दोलनमा पूर्ण रूपमा जलेर ध्वस्त भएको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणका लागि झन्डै १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उक्त सम्पूर्ण खर्च एनआरएनएले व्यहोर्ने प्रतिबद्धता अध्यक्ष श्रेष्ठले गरेका छन् । पुनर्निर्माणको कार्यलाई डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक मनोज श्रेष्ठ ‘गोर्खाली’को नेतृत्वमा सुरु गरिएको हो ।

पुनर्निर्माणको क्रममा मंगलबार नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, डिआइजी ओम राना, ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीलगायत उच्च प्रहरी अधिकारीसँग एनआरएनए टोलीले वस्तुस्थिति अवलोकन गरेको थियो । ‘सडक सुरक्षा जनजीवनलाई लयमा फर्काउने पहिलो शर्त हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले एनआरएनएले यसलाई प्राथमिकतामा राखेको छ ।’

प्रहरी प्रमुख एसपी नवराज अधिकारीले गैरआवासीय नेपालीहरूको सहयोगले काम तीव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । हाल कन्ट्रोल रुमको सेवा अस्थायी टेन्टबाट सञ्चालन भइरहेको छ । नयाँ संरचना बनेपछि मुलुकभरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी र वैज्ञानिक हुने अपेक्षा गरिएको छ ।

उक्त अवसरमा उपाध्यक्ष तथा सहसंयोजक रश्मि थापाले ‘दसैँको टिका अगाडि संरचनाको मुख्य काम सक्ने गरी मजदुर संख्या बढाइएको’ जानकारी दिइन् । अध्यक्ष श्रेष्ठले कम्प्युटर, टिभी, रेडियो सेट, फर्निचरलगायत आवश्यक उपकरण उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।

यसैगरी अध्यक्ष श्रेष्ठले मंगलबार रानीपोखरीस्थित प्रहरी उपत्यका कार्यालयका एआइजी दानबहादुर कार्कीसँग छुट्टै भेट गर्दै आवश्यक सहयोगबारे छलफल गरेका थिए । सो अवसरमा पूर्वअध्यक्ष विनोद कुँवर, सल्लाहकार उमेश पुडासैनी, युवा संयोजक भीमसेन थापा, सदस्य सचिव धर्मराज गिरी, महिला संयोजक रश्मि थापा लगायत एनआरएनए अभियन्ताहरूको सहभागिता थियो ।

यसैबीच, एनआरएन अभियन्ता राजेन्द्रकुमार (आरके) शर्माले ‘सरकारले प्रवासमा रहेका नेपालीहरूसँग अझै संस्थागत सहकार्य गर्नुपर्ने’मा जोड दिएका छन् ।

यता अर्का समूहका अध्यक्ष डा. बद्री केसी नेतृत्वको समूह भने हालै प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर आन्दोलनबाट भएको क्षति पुनःनिर्माणमा सहयोग गर्ने आश्वासन दिनमात्रै सीमित भएको छ । उनीहरूको गतिविधि मुख्यतः राजनीतिक शक्ति केन्द्रमा पुग्नेमा सीमित भएको भन्दै आलोचना भइरहेको छ । उसो त केही दिनअघि केसी नेतृत्वको एनआरएनए अभियन्ता जलेको भग्नावशेषमा फोटो खिचाउन संसद भवन अघिसमेत पुगेको थियो ।

श्रेष्ठ नेतृत्वको एनआरएनएको सक्रियता देखिँदै गर्दा संकटको घडीमा प्रवासी नेपालीहरूको हातेमालो मुलुकलाई आवश्यक शक्ति बन्न सक्ने आशा गरिएक छ ।

प्रतिक्रिया दिनुहोस