विश्व रेकर्डका लागि जनकपुरमा अन्नको मूर्ति बनाइने

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, १५ : १६
विश्व रेकर्डका लागि जनकपुरमा अन्नको मूर्ति बनाइने

काठमाडौँ । विश्वमै पहिलोपटक जनकपुरमा अन्नबाट ११ हजार स्क्वायर फिटको प्रतिमा (मूर्ति) बन्ने भएको छ । विवाह पञ्चमीको अवसरमा जनकपुरमा अन्नको मूर्ति बनाइने भएको हो ।

जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सो मूर्ति निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताए । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ज गराई सकेको छ । जनकपुरमा त्योभन्दा ठुलो मूर्ति बनाउन लागिएको साहले बताए ।

सो मूर्ति निर्माण भएपछि वर्ल्ड रेकर्डका लागि दाबी गर्ने उनले बताए । अन्नबाट राम–सीता स्वयंवर (विवाह) को मूर्ति बनाइने निर्णय भएको साहले जानकारी दिए ।‘मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ । मूर्तिका लागि कुनै रङ्ग प्रयोग हुने छैन । जहाँ जुन रङ्गको आवश्यकता पर्छ, सोही रङ्गको अन्न प्रयोग गरिन्छ’ साहले भने । सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ भने मूर्ति बनाउन प्रयोग गरिएको अन्न फेरि प्रयोगमा ल्याइने बताइएको छ ।

पुस १ गतेदेखि सुरु हुने विवाह महोत्सवका लागि मङ्सिर २० गतेदेखि मूर्ति बनाउन सुरु हुने अध्यक्ष साहले बताए । मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट कालिगड आउने छन् । जनकपुरको १२ बिघा जमिनमा निर्माण हुने मूर्ति निर्माणका लागि ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ भने त्यसका लागि उद्योग वाणिज्य सङ्घ, स्थानीय सरकार र प्रदेश सरकार लगायतको सहयोग रहने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस