इटालीकी प्रधानमन्त्रीले गरिन् आफ्नो पार्टनरबाट अलग भएको घोषणा

एजेन्सी

शुक्रबार, ०३ कार्तिक २०८०, १९ : १४
इटालीकी प्रधानमन्त्रीले गरिन् आफ्नो पार्टनरबाट अलग भएको घोषणा

रोम । इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले शुक्रबार आफ्नो पार्टनरबाट अलग भएको घोषणा गरेकी छन् । आफ्ना पार्टनरले भद्दा टिप्पणी गर्दै प्रेम प्रसङ्गको कुरा स्वीकार गरेपछि आफूले अलग रहने घोषणा गरेको उनले बताइन् ।

“करिब १० वर्षदेखिको एन्ड्रिया जियाम्ब्रुनोसँगको मेरो सम्बन्ध यहीँ समाप्त हुन्छ,” आफूहरूको बाटो केही समयका लागि अलग भएको उल्लेख गर्दै प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जालमा भनेकी छन् ।टेलिभिजन प्रस्तोता जियाम्ब्रुनोले रेटे ४ कमर्सियल स्टेसनमा आफ्नो टक शो ‘डाइरियो डेल जिओर्नो’ (डेली डायरी)को अफ–एयरमा महिला सहकर्मीमाथि खुलेर यौन र यौनवादी टिप्पणी गरेको फेला परेपछि प्रधानमन्त्री मेलोनीको उक्त घोषणा आएको हो ।

“तिमीलाई कस्तो छ डार्लिङ, के तिमीलाई थाहा छ (नाम परिवर्तन गरिएको) र मेरो अफेयर चलिरहेको छ ? सबै टेलिभिजन कम्पनीलाई यो थाहा छ । र, अब तिमीलाई पनि थाहा छ,” एक महिलासँग उनले कुरा गरेको सुनिन्छ ।

“तर, हामी तेस्रो व्यक्ति खोजिरहेका छौँ, किनभने हामी तीनजना गर्छौँ, चारजना पनि गर्छौँ । के तिमी हाम्रो कार्य समूहको हिस्सा बन्छ्यौ ?”, मङ्गलबार र बिहीबार विभिन्न टेलिभिजन च्यानलमा प्रसारित टिप्पणीमा उनको भनाइ सुनिन्छ ।

४६ वर्षीया मेलोनीले यसै साता दक्षिणपन्थी सरकारको प्रमुखका रूपमा एक वर्ष पूरा गर्दै छिन् । उनको पार्टीले परम्परागत पारिवारिक मूल्यमान्यताको दृढतापूर्वक बचाउ गर्छ । अगस्टमा आफ्नो टक शोमा बलात्कारका बारेमा गरेको टिप्पणीलाई लिएर पीडितलाई दोषी भनेको आरोप लागेपछि जियाम्ब्रुनोको बचाउका लागि प्रधानमन्त्री मेलोनी बाध्य भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस