ट्रम्पले किन रोकिदिए विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण ?

एजेन्सी

शनिबार, ०९ भदौ २०७५, ०९ : ३५
ट्रम्पले किन रोकिदिए विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण ?

बीबीसी

अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरिया भ्रमण तत्कालका लागि रद्द भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनपछि उनको प्रस्तावित यात्रा रद्द भएको हो ।

अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत कोरियाली प्रायद्वीपले आफूलाई परमाणु हतियार मुक्त गर्ने दिशामा पर्याप्त अघि नबढाएको आरोप लगाएका छन् ।

यसका साथै उनले अमेरिका र चीनबीच व्यापारिक किचलो पैदा भएका कारण उत्तर कोरियामाथि पर्याप्त दबाब नबनाएको बताए ।

यद्यपी, जूनमा उत्तर कोरियाली नेता किम जोंग उनसँग सम्मेलनमा भाग लिएपछि ट्रम्पले उत्तर कोरियासँग कुनै परमाणु खतरा नभएको बताएका थिए ।

तर त्यसपछि आएका रिपोर्ट अनुसार उत्तर कोरियाले आफ्नो परमाणु स्थललाई बन्द गरेका छैनन् ।
हालै एक अज्ञात अमेरिकी अधिकारीले वासिङ्टन पोष्टलाई दिएको जानकारी अनुसार उत्तर कोरियाले नयाँ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल तयार गरिरहेको छ ।

संयुक्त राष्ट्रको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम जारी राखेको बारे जानकारी दिएको छ ।

 माइक पोम्पियो उत्तर कोरियाका लागि नियुक्त विशेष दूत स्टिफन बिगनसँग अर्को हप्ता उत्तर कोरिया भ्रमणमा जाने तयारीमा थिए ।

यो विदेशमन्त्रीको चौथो भ्रमण हुनेथियो । यद्यपी, किम जोंग उनसँग पोम्पियो भेट हुने कार्यक्रम थिएन । तर अब ट्रम्पले पोम्पियो उत्तर कोरिया नजाने बताइसकेका छन् ।

यसबारे गरिएका तीन ट्वीटमध्ये दोस्रोमा ट्रम्पले चीनलाई पनि निशाना बनाए ।

उनले भने, ‘व्यापारबारे हाम्रो कडा नीतिका कारण मलाई लाग्दैन कि चीन परमाणु हतियार मुक्त गर्ने दिशामा त्यसरी नै मद्दत गरिरहेको छ जसरी उसले पहिले गर्दै आएको थियो ।’

यद्यपी, दुई दिन अघि मात्र ट्रम्पले भनेका थिए कि ‘उत्तर कोरियाका लागि चीनले निकै सहयोगी भूमिका खेलिरहेको छ ।’

ट्रम्पले सिंगापुरमा किम जोंग उनसँग भेटेर आएपछि ट्वीटरमा लेखेका थिए, ‘उत्तर कोरियासँग अब कुनै परमाणु खतरा छैन । अब सबैले सुरक्षित महसुस गर्न सक्छन् ।’

तर सिंगापुरमा भएको प्रगतिविपरित ताजा स्थिती परिवर्तन भइरहेको देख्न सकिन्छ । सिंगापुर सम्मेलनदेखि अहिलेसम्म ट्रम्प र किमको सम्बन्धमा विभिन्न उतार–चढाव आएका छन् ।


अब कहिले जालान् पोम्पियो ?

अमेरिकी राष्ट्रपतिले ट्वीट गरेका छन्, ‘पोम्पियोले निकट भविष्यमा उत्तर कोरिया जाने योजना बनाउन सक्छन् । शायद त्यतिबेला जब चीनसँग हाम्रो व्यापारिक सम्बन्ध सुल्झिनेछ । त्यतिबेला म अध्यक्ष किमलाई शुभकामनाा पठाउन चाहन्छु । उनीसँग चाँडै भेट हुँदा मलाई खुसी लाग्नेछ ।’

प्रतिक्रिया दिनुहोस