साम्राज्यवादीहरु बीआरआईको विरोधमा छन्, कुनै शक्तिले विश्वव्यापी विस्तार रोक्न सक्दैन : झलनाथ खनाल

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १४ : ३९
साम्राज्यवादीहरु बीआरआईको विरोधमा छन्, कुनै शक्तिले विश्वव्यापी विस्तार रोक्न सक्दैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहेको बताएका छन् ।

चीनले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यको लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) को जनता जनताबीचको आपसी सहकार्य थेमाटिक फोरमलाई सम्बोधन गर्दै विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न नसक्ने बताए ।

समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापी विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्धका साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात गरेको बताए ।

खनालको सम्बोधनको पूर्णपाठ

महामहिम राष्ट्रपति सी जिनपिङ,
विश्वभरबाट पाल्नुभएका अतिथिज्यूहरू,
महिला तथा सज्जनवृन्द,

नयाँ, समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाको लागि एक महत्वपूर्ण परिघटनाको रूपमा रहेको यो ऐतिहासिक सम्मेलनलाई पूर्वप्रधानमन्त्रीको रूपमा तपाईंहरू सबैलाई नेपालको तर्फबाट अभिवादन गर्न पाउँदा निकै खुशी लागेको छ ।

यो नयाँ विश्व व्यवस्थाको यात्रा आजभन्दा ठीक १० वर्ष पहिले महामहिम राष्ट्रपति सी चिनपिङद्वारा घोषणा गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ पश्चात् सुरु भएको थियो । सो ऐतिहासिक पहलकदमीले विश्वमा रहेका विभिन्न देशहरू र जनता जनताबीचको आपसी सहयोग र सहकार्यको नयाँ अवधारणा सुरु गरेको थियो । साथै, सो पहलकदमीले प्राचीन सिल्क रोड र सामुद्रिक सिल्क रोडलाई पुन: आविष्कार पनि गरेको थियो, जसले हिजो इतिहासमा विश्वभर विकसित भएका विभिन्न सभ्यताहरूलाई एकआपसमा जोडेको थियो ।

यस पहलकदमीले विश्वभरका जनताहरुलाई एकआपसमा व्यापार गर्न, एकआपसका मूल्यमान्यताहरूबाट सिक्न र आपसी सम्बन्ध र सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको छ ।

यो ऐतिहासिक पहलकदमीले नेपाल र चीन सरकार र दुई देशका जनताहरू बीचको औपचारिक सम्बन्धको परिचय दिएको छ । नेपाल र चीनको औपचारिक सम्बन्ध करिब १६०० वर्ष पुरानो रहेको पाइन्छ र यसलाई ऐतिहासिक कालखण्डमा सिल्क रोडको एउटा शाखा चामा गुडाओ (चिया हर्स रोड) द्वारा स्थापित सम्बन्धको रूपमा स्मरण गर्ने गरिएको छ ।

महामहिमहरु,

सिल्क रोड प्रणालीले हिजो स्थापित गरेको विश्व सम्बन्धको उचाइलाई पश्चिमा सांस्कृतिक अहंकारवाद, जातिवाद, उपनिवेशवाद र साम्राज्यवादले ध्वस्त पारेको थियो । आज चीनले अगाडि सारेको बीआरआईले विश्वभर रहेका मानिसहरुको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ‌ ।

समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको छ । सिल्क रोडको पुन:आविष्कारको रूपमा आएको बीआरआईले विश्वमा रहेका विभिन्न सभ्यताहरू एकआपसमा सहकार्य गर्छन र सहअस्तित्वमा बाँच्छन्,‌ साथै एकअर्कालाई रूपान्तरण समेत गर्छन्, तर तिनीहरू बीच कुनै विरोधाभास हँदैन् भन्ने सत्यलाई समेत स्थापित गरेको छ ।

केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहन्छन् । तर विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन् । यो पहलकदमीले विश्वभरका जनताहरुमा आर्थिक समृद्धि र विभिन्न सभ्यताहरूको सहअस्तित्वको साझा भविष्यसहितको सुन्दर संसार स्थापनाकोलगि नयाँ आशा जगाएको छ ।

हाम्रो मुलुक नेपालपनि यस ऐतिहासिक पहलकदमिको एक हिस्सा भएको छ र बीआरआई मार्फत विश्वजगतसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस समेत गरेको छ ।

अन्त्यमा हाम्रो प्यारो जीवित ग्रहमा एउटा नयाँ, समृद्ध र साझा मानव सभ्यताको विकास र स्थापना छिट्टै हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दै, मेरा विचारहरु धैर्यतापूर्वक सुन्नुभएकोमा तपाईंहरु सवैलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस