कञ्चनपुरमा गोलीको वर्षा, एक किशोरको मृत्यु

शुक्रबार, ०८ भदौ २०७५, १८ : ५५
कञ्चनपुरमा गोलीको वर्षा, एक किशोरको मृत्यु


कञ्चनपुर । निर्मला हत्या प्रकरणका दोषीलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागी कञ्चनपुर भीमदत्त नगरपालिका भासीका १३ वर्षीय किशोर भट्टको मृत्यु भएको छ । गोली लागेर २ जना गम्भीर घाइते भएका छन् । 
निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । एमाले नेता भीम रावलले दिएको अभिव्यक्तिविरुद्ध नेविसंघले निकालेको आन्दोलनमा गोली चलेको हो । नेता रावलले निर्मला हत्याकाण्डलाई राजनीतिसँग जोडेर आन्दोलन भएको अभिव्यक्ति दिएका थिए । विद्यार्थीहरुले नाराजुलुशसहित जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
केही दिनदेखि अशान्त बनेको कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपी फेरबदल भइ छानविन समिति गठन भएपछि सामान्य बनेको थियो । तर, पुनः नेविसंघको प्रदर्शनले शुक्रबार अशान्त बनेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँबेरबहादुर कडायतले आन्दोलनलाई थप उग्र हुन नदिने बताएका छन् । यसअघि प्रहरीले कञ्चनपुरमा आन्दोलनकारीमाथि गोली चलाएको थियो । गोली लागी ४ जना घाइते भएका थिए । 


 

प्रतिक्रिया दिनुहोस