चितवनमा स्क्रब टाइफसको संक्रमण

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १५ : ५७
चितवनमा स्क्रब टाइफसको संक्रमण

चितवन : गएको साउन महिनामा चितवन जिल्लामा ८२ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४ सय ३१ जना बिरामीको नमुना परीक्षण गरिएको थियो । मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आव २०७४/७५ मा दुई हजार २ सय ३७ जनाको नमुना परीक्षण गर्दा ४ सय १० जनामा स्क्रब टाइफस भेटिएको थियो ।

साउनमा जिल्लामा ५ जनामा डेंगुको संक्रमण भेटिएको छ । कार्यालयका अनुसार ३ सय ४६ जनाको परीक्षण गरिएको थियो । डेंगु संक्रमित तीनजना चितवनका हुन् भने दुईजना बाहिरी जिल्लाका रहेका छन् । अघिल्लो आवमा ५९ जनामा डेंगुको संक्रमण भेटिएको थियो । एक हजार ४ सय ८३ जनाको नमुना परीक्षण गरिएकामा सो संख्यामा डेंगु संक्रमण भेटिएको थियो । जसमध्ये ३३ जना चितवनका रहेका थिए । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा स्वाइनफ्लुका बिरामी भने नरहेको दाबी गरेको छ । कार्यालयका प्रमुख विजयकुमार झाले मौसमी रुघाखोकी देखिएको बताए । मानिसबाट मानिसमा सरेर आएको फ्लुलाई स्वाइन्फ्लु भन्न नमिल्ने उहनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस