विश्वकप छनोट फुटबलमा अर्जेन्टिना विजयी

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, ११ : ३५
विश्वकप छनोट फुटबलमा अर्जेन्टिना विजयी

काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा अर्जेन्टिना अपराजित छ । अर्जेन्टिनाले शुक्रबार विहान सम्पन्न खेलमा पाराग्वेमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो ।

अर्जेन्टिनाले खेलको प्रारम्भमै निर्णायक गोल गरेको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले गोल गरेका थिए । त्यसपछि खेलमा दुबै टोलीले थप गोल गर्न सकेनन् । 

खेलको प्रारम्भमा स्टार खेलाडी लियोनल मेसी मैदानमा थिएनन् । तर, दोस्रो हाफमा भने उनी परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए । ४६औँ मिनेटमा मैदानमा प्रवेश गरेका मेसीले गरेको दुईवटा सशक्त प्रहार पोष्टमा ठोक्किएको थियो । अमेरिकी क्लब इन्टर मियामीबाट ब्यवसायीक फुटबल खेल्ने ३६ वर्षीय मेसी पछिल्लो केही समययता घाइते छन् । 

अर्को खेलमा कोलम्बियाले उरुग्वेलाई २—२ गोलको बराबरीमा रोक्यो । ईक्वेडरले भने बोलिभियालाई २—१ गोलले पराजित गर्‍यो । चिलीले पेरुलाई २—० गोलले पाखा लगायो । दक्षिण अमेरिकी क्षेत्रको अर्को प्रभावशाली राष्ट्र ब्राजिल भने बराबरीमा रोकियो ।

ब्राजिललाई भेनेजुएलाले १—१ गोलको बराबरीमा रोकेको हो । सुरुमा लिएको अग्रता जोगाउन नसक्दा ब्राजिलले भेनेजुएलासँग अंक बाँड्नु परेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५०औँ मिनेटमा ब्राजिलका लागि ग्याब्रियलले पहिलो गोल गरेका थिए ।

तर, ब्राजिलको त्यो अग्रतालाई जोगाउन सकेन । निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि भेनेजुएलाले जवाफी गोल गरेको थियो । एडुआर्डो बेल्लोले जवाफी गोल गर्दै भेनेजुएलालाई सम्भावित हारबाट जोगाएका थिए । 

विश्वकपको दक्षिण अमेरिकी क्षेत्रको छनोट तालिकामा तीन खेलबाट नौ अंक बटुल्दै अर्जेन्टिना पहिलो स्थानमा आसिन छ । अर्जेन्टिना फिफा विश्वकपको विजेता टोली पनि हो । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो ।

तीन खेलबाट सात अंक बटुलेको ब्राजिल तालिकाको दोस्रो स्थानमा छ । ब्राजिल सबैभन्दा बढी विश्वकपको उपाधि जित्ने राष्ट्र हो । तीन खेलबाट पाँच अंक जोडेको कोलम्बिया तालिकाको तेस्रो स्थानमा छ । तीन खेलबाट चार अंक बटुलेको उरुग्वे चौथो स्थानमा छ । 

यसैगरी चार अंकसहित चिली पाँचौँ र समान अंक बटुलेको भेनेजुएला छैठौँ स्थानमा आसिन छन् । तीन अंकसहित इक्वेडर सातौँ र एक अंकसहित पाराग्वे आठौँ स्थानमा छन् । समान एक अंक जोडेको पेरु नवौँ स्थानमा छ । दशौँ स्थानमा आसिन बोलिभियाले भने अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस