विश्वकपमा अष्ट्रेलियामाथि भारतको शानदार जित

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०८०, ०८ : २२
विश्वकपमा अष्ट्रेलियामाथि भारतको शानदार जित

File pic

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियामाथि शानदार ६ विकेटको जित हासिल गरेको छ ।  

चेन्नईको एम चिदम्बरम क्रिकेट मैदानमा जितका लागि दुई सयरनको सामान्य चुनौती पछ्याएको भारतले ४१.२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो । 

शुरुआतमा २ रन जोड्दा ३ विकेट गुमाएको भारत अप्ठेरोमा भए पनि केएल राहुल र विराट कोहलीबीच चौथो विकेटका लागि भएको १६४ रनको साझेदारीले भारतले सहज जित हासिल गरेको हो । 

राहुलले ११५ बलमा अविजित रहँदै ९७ रन जोडे । त्यस्तै कोहलीले ११६ बलमा ८५ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयाले ८ बलमा अविजित रहँदै ११ रन जोडे । 

कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस ऐयर भने रन नबनाइ आउट भए । जोश हाज्लेवुडले ३ विकेट लिए । 

यसअघि खेलमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ३ बल खेल्न बाँकी छँदै अलआउट भएर १९९ रनमात्र बनाउन सक्यो । 

स्टेभेन स्मिथले ४६ तथा डेभिड वार्नरले ४१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा भारतीय स्पिनरहरु हावी भए । 

रविन्द्र जडेजाले ३ तथा जसप्रित बुमराह र कुलदीप यादवले समान २ विकेट लिए । त्यस्तै मोहम्मद सिराज, हार्दिक पाण्डेया र रविचन्द्रन आश्विनले १–१ विकेट लिए ।  

हेड टु हेड
अहिलेसम्म दुवैले आपसमा १५० एक दिवसीय खेलेका छन् । जसमा अष्ट्रेलिया ८३ तथा भारत ५७ खेलमा विजयी भएको छ । १० खेल नतिजाविहीन रह्यो । 

विश्वकपमा पनि यी दुईले १३ खेल खेलेका छन् । जसमा ८ मा अष्ट्रेलिया विजयी भएको छ भने भारतले ५ खेलमात्र जितेको छ । 

सन् २०१९ को विश्वकपमा भने भारतले हराएको थियो । र यसपालि पनि भारतले नै हरायो । 

यो स्टेडियममा अहिलेसम्म ३२ एक दिवसीय खेलिएको छ । रोचक कुरा त के भने पहिले ब्याटिङ गर्ने टिमको जितको प्रतिशत ४९–५१ रहेको छ । आज पनि त्यही भयो ।