चाडपर्व लक्षित सुपथ मूल्यका पसल दुर्गम क्षेत्रमा पनि सञ्चालन गर्न सरकारलाई निर्देशन

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १६ : ०९
चाडपर्व लक्षित सुपथ मूल्यका पसल दुर्गम क्षेत्रमा पनि सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चिनी, चामल, दाल लगयातका अत्यावश्यक वस्तुहरुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसलाजन्य वस्तुहरु (जिरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुन सक्नेतर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

सरकारलाई निर्देशन दिँदै समिति सभापति अब्दुल खानले सरकारले चाडपर्व लक्षित सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा समेत थप गरी त्यस्ता पसलहरुबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।

समितिले छलफलमा सुपारी खेती व्यवसायको हालको समग्र अवस्थाका सम्बन्धमा सरोकारवालाहरुसँग जानकारी लिँदै यस विषयमा समितिले थप अध्ययन गरी सरकारका सरोकारवाला मन्त्रालय र पक्षसँग समितिको अर्को बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस