भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल

रासस

बुधबार, १७ असोज २०८०, १४ : ३५
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल

चितवन ।  भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो । महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटालाई भ्रमण वर्ष अन्तरराष्ट्रिय समन्वय समितिको संयोजक बनाएर विश्वभर रहेका नेपालीहरुलाई भ्रमण वर्षमा आमन्त्रण गरिँदै छ । सापकोटाका अनुसार सामाजिक सञ्जालमार्फत ५४ देशका नेपालीहरुलाई एउटा ग्रुपमा समेटिएको छ । क्रमशः थप देश र व्यक्ति जोडिने क्रम जारी छ ।

त्यहाँ रहेका चितवनवासी र नेपालीहरुलाई भ्रमण वर्षमा नेपाल आउन आग्रह गरिएको छ । यससँगै काम गर्ने साथीहरुलाई भरतपुर ल्याउन ‘एक जना साथी भरतपुर ल्याउँ’ अभियान थालिएको छ । आफू काम गर्ने संस्थाका प्रमुख वा अन्य व्यक्तिहरुलाई समेत निम्तो दिएर भ्रमण वर्षमा यहाँ ल्याउन आग्रह गरिएको सापकोटाले बताए ।
उनिहरुमार्फत नै स्थानीय सरकारसँगै विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर पर्यटकलाई भरतपुर भ्रमण गर्न पठाउन आग्रह गरिएको छ । नेपालीहरुले सञ्चालन गरेका होटल, रेष्टुरेन्ट, पसलहरुमा भ्रमण वर्षका पोष्टर राख्न, भ्रमण वर्षसम्बन्धी तयार गरिएका डिजिटल सामग्री प्रसारण गर्न आग्रह गरिएको छ । यसैगरी राजदूतावासहरुमा भ्रमण वर्षसम्बन्धी पोष्टर, पम्प्लेट जस्ता सामग्री राखिँदै छ । सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घका अध्यक्षहरुलाई सल्लाहकार बनाएर भ्रमण वर्षमा अधिकतम पर्यटक भरतपुर भित्र्याउने योजना बनाइएको छ ।

गैरआवासीय नेपाली सङ्घको सम्मेलनको पूर्वसन्ध्यामा अक्टोबर १४ तारेखमा भरतपुरमा अन्तरराष्ट्रिय समन्वय समिति चितवन समाजको सम्मेलन हुँदैछ । यसले विदेशमा रहेका नेपालीहरुलाई भ्रमण वर्षमा यहाँ आमन्त्रण गर्न र योजना बनाउन सहज हुने भएको छ । विश्वमा एक सय १२ भन्दा बढी देशमा नेपाली रहेका छन् ।

महानगर प्रमुख रेनु दाहालले अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत विदेशमा रहेका भरतपुरवासी, चितवनवासी र समग्र नेपालीलाई भ्रमण वर्षमा निम्तो दिन लागिएको बताईन्। यसैगरी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घमार्फत विश्वभर भ्रमण वर्षको प्रचारको काम गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् । आफूहरु विदेश भ्रमणमा जाँदा भेटिएका त्यहाँका अधिकारीहरुलाई मौखिक रुपमा निम्तो दिने काम भइरहेको उनले जानकारी दिइन् । आन्तरिक र बाह्य पर्यटकलाई आमन्त्रणसँगै पर्यटकको बसाइँ लम्ब्याउन महानगरपालिकाले नयाँ गन्तव्यको खोजीसँगै तयारी तीव्र रुपमा अघि बढाएको छ ।

यहाँ आउने पर्यटकका लागि पहिलो रोजाइ चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका दुर्लभ वन्यजन्तु हुन् । आएका पर्यटकलाई बाघ देखाउनका लागि महानगरपालिकाको देवनगरमा खुल्ला खोर बनाइँदै छ । दाहालले भनिन्, “भरतपुर आएका पर्यटकले बाघ नहेरी फर्किन नपरोस् भनेर काम अघि बढाएका छौं ।” ऐतिहासिक महत्व बोकेको दियालो बङ्गला खुल्ला गर्ने अन्तिम तयारीमा महानगर जुटेको छ ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्षको तयारी तिव्र गतिमा अघि बढेको बताए। स्वदेशी र विदेशी पर्यटक उल्लेख्य रुपमा आउनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ । महानगरभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुलाई व्यवस्थित गर्ने र नयाँ गन्तव्यको खोजीमा महानगर जुटेको उनले बताए।
भ्रमण वर्षमा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिने अपेक्षा गरिएको छ । अधिकारीले नेपाल भित्रिने पर्यटकमध्ये धेरै भरतपुर ल्याउने गरी तयारी भइरहेको बताए। यसका लागि नेपालमा पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरुसँग समन्वय गर्ने काम भइरहेको छ । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । कोभिडपछि थला परेको यहाँको पर्यटकीय गतिविधिलाई भ्रमण वर्षले टेवा पुग्ने अपेक्षा गरिएको छ ।

महानगरपालिकाले विभिन्न समिति निर्माण गरेर भ्रमण वर्षका गतिविधि अघि बढाएको छ । भरतपुरमा मेघौली, पटिहानी, जगतपुर, देवनगरलगायत मुख्य सहरी क्षेत्रमा पर्यटकीय होटल रहेका छन् । यहाँ सूर्योदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाटसम्म पर्यटकीय गन्तव्य रहेका छन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगरको राप्तीतर्फको भाग निकुञ्जसँग जोडिएको छ । त्यसका कारण पर्या पर्यटनका हिसाबले यसलाई देशकै महत्वपूर्ण ठाउँका रुपमा लिन थालिएको छ । 

प्रतिक्रिया दिनुहोस