गरिबी न्यूनीकरण गर्न समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

रासस

मंगलबार, १६ असोज २०८०, २१ : ४६
गरिबी न्यूनीकरण गर्न समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

धनुषा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गरी देश विकास गर्नका लागि समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताएका छन् । समाजवाद जागरण अभियानले आज धनुषामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले समाजवादमा उत्पादनका साधन स्रोत तथा वितरण प्रणालीको न्यायोचित व्यवस्थापन हुने बताए ।

समाजमा विद्यमान सबै विभेद तथा हिंसाको न्यूनीकरण गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष नेपालले जनतालाई समाजवादबारे जानकारी गराउन राष्ट्रिय अभियान सुरु गरेको दाबी गरे । अभियानले मेचीदेखि महाकालीसम्मका जनतामा विचार प्रवाह हुने विश्वास व्यक्त गर्दै उनले अभियानमा जनताको सुझावलाई सङ्कलन गरी क्रान्तिकारी समाजवादी नीति निर्माणमा उपयोग गरिने बताए ।

पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएकाले जनहितमा आफूहरूले कार्य गरेको स्पष्ट पार्दै अध्यक्ष नेपालले जनताका समस्यालाई सम्बोधन गरेर अगाडि बढ्न लागिपरेको बताए । यसअघि सिराहामा आयोजित कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनालले पुँजीवादमा मुनाफाका लागि पुँजीपति वर्गले श्रमिकको शोषण गर्ने हुँदा त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । 

उनले शोषण, अन्याय, अत्याचार तथा विभेदको अन्त्य गर्न समाजवादको विकल्प नरहेको बताए । महासचिव घनश्याम भुसालले सामाजिक न्याय, समानता र सामाजिक रूपान्तरणका लागि सुरु भएको समाजवादको अभियान देशभर पुर्‍याइने भन्दै यसले सबै जनताका सुख दुःखलाई साझा र समान बनाउने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस