चितवन । भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो ।
सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन लागिएको छ । यसको तयारीका लागि सबै वडाहरूमा वृक्षरोपण गरेर हरियाली महानगर बनाइँदै छ । गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाइसँगै वृक्षरोपण गर्न थालिएको छ । यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षरोपण भइरहेको छ । महानगरपालिकाले आज बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाइसँगै वृक्षरोपण गरेको छ । वृक्षरोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ कार्यक्रमका लागि यस आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको बताइन् । यस अभियानलाई वडा तहदेखि टोलसम्म पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उनले जानकारी दिइन् । उनले भनिन्, “हरियाली प्रवर्द्र्धन र सरसफाइ अभियानअन्तर्गत यही वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना रहेको छ ।”
वडा तहले १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षरोपण गर्ने, सरसफाइ गर्ने छन् । सोभन्दा फराकिला सडकमा महानगरले वृक्षरोपण र सरसफाइ गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छन् । यसको संरक्षण स्थानीय र महानगरले गर्ने गरी वृक्षरोपण गर्न लागिएको दाहालले बताइन् । हरियाली प्रवर्द्धनअन्तर्गत सडक मापदण्ड, यातायातको चाप र यात्रुको चापलाई मध्यनजर गरेर बिरुवाको जात छनोट गरिने छ ।
वृक्षरोपण र सरसफाइ अभियानमा प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष एवं सदस्य, सम्बन्धित टोलका प्रतिनिधि एवं स्थानीय सहभागी भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ असोज २०८०, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना