नयाँ अनुहारको खोजी गर्दै माओवादी

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, ११ : २७
नयाँ अनुहारको खोजी गर्दै माओवादी

काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा नयाँ अनुहारको खोजी शुरू भएको छ । तीन महिने रूपान्तरण अभियानमा रहेको माओवादीले गाउँगाउँमा नयाँ अनुहार खोज्न थालेको हो ।माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले रुपान्तरण अभियानको पहिलो समीक्षा बैठकमा नयाँ अनुहारबारे चर्चा गरेका छन् ।

माओवादी केन्द्रका वाग्मती प्रदेश इन्चार्जसमेत रहेका शर्माले नेता–कार्यकर्तालाई पार्टीमा नयाँ अनुहार नदेखिनुको कारण सोधेका हुन् । वाग्मतीका १३ जिल्लामध्ये समीक्षा भएका प्रायः सबै बैठकमा शर्माले यसबारे चर्चा गरेको नेताहरू बताउँछन् ।काठमाडौं उपत्यकाका बैठकमा उनले बढी जोड दिएरै पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताएका हुन् । ’शान्ति प्रकृयामा आएकै १७÷१८ वर्ष भइसक्यो ।

जनयुद्धको कुरालाई योग्यता सम्झेर मात्रै पार्टी बन्दैन । पार्टी चलाउन नयाँ अनुहारहरू चाहिन्छन्,’ उपत्यकाका प्रायः सबै समीक्षा बैठकमा उनले भन्ने गरेका छन्, ’हामीले मात्रै गरेर पुग्दैन, नयाँ पुस्ताले विश्वास गरिदिनुपर्छ । त्यसैले नयाँ अनुहार खोज्नुस् र उनीहरूलाई अवसरको सुनिश्चितता गर्नुस् । त्यसपछि मात्रै पार्टीले पुनर्जिवन पाउँछ ।’

शनिवार भक्तपुरको बैठकमा पनि पूर्वमन्त्रीसमेत रहेका शर्माले नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नुपर्नेमा जोड दिए । ’हामी एक्लैले जित्न सक्दैनौं भन्ने थाह भइसक्यो । सामाजिक छवि र जनस्तरमा पकड भएका युवाहरू अन्य पार्टीबाट खोजेर ल्याउनुस् । कम्तीमा वडामा उनीहरूलाई उम्मेदवारको ग्यारेन्टी गरिदिनुस्,’ उनले भने, ’यसो गर्यो भने पार्टीको संरचना भत्किन्छ भन्ने लाग्छ भने एकपटक भत्किन दिनुस् । अभियानले असन्तोषी विरासतहरू भत्काउनुपर्छ र नयाँ अब्बल विरासतको शुरूआत गर्नुपर्छ ।’

भद्दा कमिटीहरूले पार्टी निर्माणमा योगदान दिन नसेको भन्दै घटाउन उनले निर्देशन दिए । ’२० जनाको कमिटी घटाएर पाँच जनाको बनाउँदा केही फरक पर्दैन तर, जनाधार बढ्नुपर्छ । जनाधार बढाउन नसक्ने भद्दा कमिटीले पार्टी निर्माणमा योगदान दिन सकेनन्,’ उनले भने, ’आवश्यकताअनुसार कमिटी पनि घटाइदिनुस् तर, त्यसले जनाधार बढाउने कुराको सुनिश्चितता चाहिँ हुनुपर्छ ।

’पार्टीलाई गति दिनेगरी संगठनको शैली बदल्नुपर्ने उनले बताए । ’अभियानले पार्टीमा गति पैदा गरेको छ । सबै नेता कार्यकर्ताहरू गाउँ फर्केका छन्,’ उनले भने  ।