पद्मश्री साहित्य पुरस्कार मनु उपन्यासलाई, वात्सायनले पाए पद्मश्री साधना सम्मान

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०८०, ०९ : ४०
पद्मश्री साहित्य पुरस्कार मनु उपन्यासलाई, वात्सायनले पाए पद्मश्री साधना सम्मान

काठमाडौ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई दिने भएको छ।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक– सांस्कृतिक उपन्यास भएको प्रष्ठिानले बताएको छ।

मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ। १८० पुस्तकमध्येबाट यो कृतिलाई उत्कृष्ट ठहर्‍याइएको अध्यक्ष जीवा लामिछानेले बताएका छन्।

उनका अनुसार छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण(संक्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरिएको थियो। 

पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको पनि उनले बताए।

नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिने काम गरेकोले  नेपाली चित्रकलामा वात्सायनको योगदान विशिष्ट रहेको लामिछानेले बताए।

त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार शिक्षा क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिइने उनले जानकारी दिए। यो गत वर्षबाट प्रदान गर्न थालिएको पुरस्कार हो।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको रााशि तीन लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस