मुख्यमन्त्री हुँदा पार्टीभित्रैबाट सहयोग पाइनँ : उद्धव थापा

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, २० : ३६
मुख्यमन्त्री हुँदा पार्टीभित्रैबाट सहयोग पाइनँ : उद्धव थापा

काठमाडौँ । कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापाले कोशीमा आफू नेतृत्वमा सरकार बन्दा पार्टीभित्रैबाट असहयोग भएको गुनासो गरेका छन् ।बिहीबार सुरु भएको काँग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोशी प्रदेश सभापति थापाले कोशी प्रदेशसभाको अङ्कगणितका कारण मात्र सरकार बन्न कठिन भएकाले राजनीतिक निर्णय आवश्यक परेको स्पष्टीकरण दिए ।

कोशीमा काँग्रेस नेतृत्वको सरकार बन्दा पार्टीका नेता र शुभेच्छुकहरूले साथ दिनुपर्नेमा नदिएको उनले गुनासो गरेका हुन् । ‘पार्टी र पार्टीका नेताबाट सहयोग हुन्छ भन्ने लागेको थियो । जसले सहयोग गर्नुभएको छ, हामी धन्यवाद दिन चाहन्छौँ’, उनले भने ।

कोशीमा उद्धव थापाको नेतृत्वमा बनेको सत्ता गठबन्धनको सरकार दुवै पटक सर्वोच्च अदालतको आदेशमा बदर भएको थियो । पछिल्लो पटक ४ भदौमा थापाले लिएको विश्वासको मतलाई अवैधानिक भन्दै सर्वोच्च अदालतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश दिएको थियो ।

बिहीबार काँग्रेस बैठकमा थापाले कोशीमा आफू नेतृत्वमा सरकार बनेको विषयमा टिप्पणी गर्दा संविधानको व्यवस्था हेर्न नेताहरूलाई आग्रह गरे । ‘तपाईँहरूको कोशी प्रदेशको विषयमा, संवैधानिक वा असंवैधानिक विषयमा धारणा राख्दा संविधानको पुस्तक पढेर आउनुहोला, संविधानको धारा १८६, १८७ र १८८ हेर्नुहोला, त्यसमा पनि १८७ अध्ययन गरिदिनुस्’ उनले भने ।

संविधानको ती धारामा प्रदेशसभामा मतदान, प्रदेशसभाको विशेषाधिकार र विश्वासको मतसम्बन्धी प्रस्तावका व्यवस्था छन् ।सरकार कसरी गठन गर्ने भन्ने विषय संविधानले व्यवस्था गरे पनि कोशी प्रदेशको प्रसङ्ग अलग भएको उनले बताए ।

सर्वोच्च अदालतले आफू नेतृत्वको सरकार बदर गरिदिएको र त्यसलाई आफूले स्वीकार गरिसकेको भन्दै बैठकमा यो विषयमा धेरै छलफल आवश्यक नभएको थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस