काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले गणतन्त्रको अर्थ बुझ्न र अनुभूति गर्न बाँकी नै रहेको बताएका छन् । संविधान दिवसको अवसरमा बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सर्वोत्तम उपलब्धी गणतन्त्र प्राप्त गरे पनि त्यसलाई अनुभूत गर्न बाँकी नै रहेको बताएका हुन् ।
‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तन मात्र होइन । यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ’, उनले भनेका छन् ।
राजनीतिक व्यवस्था परिवर्तन भए पनि देश, समाज र जन सामान्यको अवस्था परिवर्तन हुन नसकेको भन्दै राष्ट्रपति पौडेलले राज्य पुनर्संरचनामार्फत तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगे पनि राज्यको चरित्रको भने पुनर्संरचना हुन बाँकी रहेको बताए ।
जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने राष्ट्रपति पौडेलले बताए । ‘संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ रु यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु’ राष्ट्रपति पौडेलले भनेका छन् ।
पूर्णपाठ :
सम्माननीय ज्यूहरू
माननीयज्यूहरू
उपस्थित महामहिम राजदूतज्यूहरू
आदरणीय दिदीबहिनी दाजुभाइहरू
आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज आठ वर्ष पुरा भएको छ । यो गौरवमय क्षणमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भइ परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै, लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु ।
हामी सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेका छौँ । अहिले हामीसँग आफैँले बनाएको संविधान छ । वर्तमान संविधानले निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको छ ।
हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो । अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्त्य हो ।
तर यहाँ व्यवस्था त परिवर्तन भयो हाम्रो देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन सकको छैन । हामीले प्रशासनिक रूपमा राज्यको पुनः संरचना गर्यौ । तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ । तर, राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी छ ।
राजनीतिक रूपमा जनताको सर्वोत्तम उपलब्धि ‘‘गणतन्त्र’’ हामीले प्राप्त गरेका छौ । तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ । गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन । यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ ।
लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भई अहिले संविधानतः तीनैतहका सरकारहरू बनेका छन् । यी निश्चय नै हाम्रा लागि धेरै ठुला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिहरूका जगमा हाम्रो भविष्यको सुखद यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।
हाम्रो देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना हाम्रो अगाडि छ । यो निकै महत्त्वपूर्ण अवसर हो । तर हामीले आफ्नो आचरण, चरित्रमा व्यापक सुधार गरेर लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा मात्र त्यो सम्भव छ ।
अहिले जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा हामी सचेत हुनैपर्छ । जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ रु यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु ।
कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन रु मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नु पर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ ।
हाम्रो सुखद भविष्य प्राप्त गर्न हामीले राजनीतिक उपलब्धिहरूलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प छैन । हिमाल पहाड तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी, बहु संस्कृति र विभिन्न सम्प्रदायलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबिच रहेको आपसी सद्भाव र भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ ।
हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ । सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट हाम्रो जलस्रोत र ऊर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखा परेको छ ।
सुशासन नै हाम्रो अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता छ । यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्न म सबैमा आग्रह गर्दछु ।
जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपहरूले हाम्रो देश र विश्वलाई अत्यन्तै बढी प्रभावित पारिरहेको छ । त्यसैले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि विश्व समुदायलाई साथ लिँदै अगाडि बढ्नु अहिलेको अर्को महत्त्वपूर्ण आवश्यकता हो ।
समयले हामीलाई जुन दायित्व दिएको छ, त्यो दायित्व पुरा गर्न तथा राज्यव्यवस्थाका हरेक आयाममा देखिने अव्यवस्थालाई हटाएर लोकतान्त्रिक मूल्यको संस्कार विकास गरी समाजको समग्र रूपान्तरण गर्न अब एकताबद्ध बनौँ र यसका लागि आजै ऐतिहासिक सङ्कल्प गरौँ ।
सबैलाई धन्यवादसहित । जय नेपाल
रामचन्द्र पौडेल
२०८० असोज ३ गते
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति