हरिवनमा १२१ जना भेटिए क्षयरोगका नयाँ बिरामी

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०८०, ०९ : ३०
हरिवनमा १२१ जना भेटिए क्षयरोगका नयाँ बिरामी

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा १२१ जना नयाँ क्षयरोगी फेला परेका छन् । विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९/८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए । 

उनका अनुसार फेला परेका नयाँ क्षयरोगीमध्ये ११९ जनाको उपचार सफल भएको छ । आव २०७८/७९ मा ११० जना क्षयरोगी फेला परेका थिए । क्षयरोगका नयाँनयाँ बिरामी फेला परे पनि पुराना बिरामीमा रोग निर्मुल गर्नका लागि चुनौती रहेको र नगरका स्वाथ्यकर्मीको एकल प्रयासले मात्रै सो सम्भव नरहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाले क्षयरोग निर्मुल गर्न जनप्रतिनिधि, सामुदायिक तथा निजी स्वास्थ्य संस्था, समाजसेवी, राजनीतिक दलका नेतालगायत मिडियाकर्मीको पनि साथ र सहयोग आवश्यक रहेको बागमती सेवा समाज नेपालका क्षयरोग कार्यक्रम संयोजक अजम्द अलि मिकरानीले बताए । उनका अनुसार हरिवन नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका र क्षयरोग र क्षयरोगीको पहिचान तथा उपचार गर्नका लागि प्राविधिकरुपमा हरिवनमा रहेको बागमती सेवा समाज नेपालले विगत पाँच वर्षदेखि सहयोग पुर्याउँदै आएको छ ।

मधेस प्रदेशका  हरिवन र निजगढ नगरपालिका तथा लक्ष्मीनियाँ गाउँपालिकालाई नेपाल सरकारले सन् २०३५ सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप पहिलो चरणमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ । जसअनुसार २०७८ सालबाट यस स्थानीय तहहरुमा क्षयरोग मुक्त अभियान घोषणा गरिएको छ ।

प्रत्येक एक लाख जनसंख्यामा २४५ जनामा क्षयरोग देखा पर्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस