कोशीका ४० प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा, आधाले मात्रै लिन्छन् सेवा

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, १३ : ०९
कोशीका ४० प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा, आधाले मात्रै लिन्छन् सेवा

विराटनगर। कोशी प्रदेशमा कूल जनसंख्याको ४० दशमलब पाँच प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । ४९ लाख ६१ हजार ४१२ जनसंख्या रहेको प्रदेशमा ४०.५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३३३ जनाले मात्र स्वास्थ्य बिमा गराएका छन् । 

नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत सेवा प्रदान गर्ने उद्देश्यले शुरू गरिएको बिमा कार्यक्रमको प्रचार र विश्वासको वातावरण बनाउन नसक्दा ठूलो जनसंख्या बिमाको पहुँचमा आउन नसकेको हो ।

२० लाख बढी जनसंख्याले स्वास्थ्य बिमा गराएको भए पनि ९ लाख ७० हजार ९३३ जनाले मात्र नियमित सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशले जनाएको छ ।प्रदेशमा सबैभन्दा बढी बिमा गराउनेहरू झापाका छन् । सोलुखुम्बुमा भने स्वास्थ्य बिमा गराउनेहरू सबैभन्दा कम छन् । 

झापामा सबैभन्दा बढी ६३.५ प्रतिशत अर्थात् ६ लाख ३३ हजार ६५८ जनाले बिमा गराएको बोर्डका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले जानकारी दिए ।  उनका अनुसार  भोजपुरमा २३.४ प्रतिशत अर्थात् ३६ हजार ८८७, धनकुटामा ३४ हजार २००, इलाममा १ लाख ३८ हजार ५०६ जनाले स्वास्थ्य बिमा गराएका छन् । 

यसैगरी खोटाङमा ५३ हजार ३८५, मोरङमा ४ लाख ५७ हजार ३९७, पाँचथरमा २५ हजार ७२५, संखुवासभामा ३५ हजार १६६, सुनसरीमा ४ लाख ६४ हजार ७४१, ताप्लेजुङमा १३ हजार ७६०, तेह्रथुममा १४ हजार १०२ र उदयपुरमा ४९ हजार ७७३ जनाले स्वास्थ्य बिमा गराएको बोर्डको अभिलेखमा उल्लेख छ । 

प्रदेशमा स्वास्थ्य बिमाको नवीकरण दर ७८ प्रतिशत रहेको छ । बिमा गरेकामध्ये अति गरिब बिमितको संख्या २४ हजार २६०, ज्येष्ठ नागरिक बिमित संख्या १ लाख ९६ हजार ८३८, एचआइभी संक्रमित ३ हजार ४६१, अति अशक्ति अपाङगता भएका ४२ हजार ९१७, कुष्ठरोगी संक्रमित १ हजार ४२ जना रहेका छन् । बिमा गराएकामध्ये सेवा लिने बिमित ४८ प्रतिशत अर्थात् ७ लाख ७० हजार ९३३ जना रहेका छन् । बिमितबाट तीन वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार २६७ रुपैयाँ संकलन भएको बोर्डले जनाएको छ । 

प्रदेशमा ७८ वटा सरकारी अस्पताल, ४ वटा सामुदायिक र २३ निजी अस्पताल गरी १०६ वटा स्वास्थ्य सेवाहरूबाट बिमा गराएका बिरामीले सेवा लिदैं आएका छन् । यी स्वास्थ्य संस्थाहरूबाट सेवा दिएवापत् तीन वर्ष ९ महिनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार ४३५ रुपैयाँ भुक्तानी लिएको बोर्डको अभिलेखमा देखिन्छ । सरकारले २०७२ बाट औपचारिक रूपमा स्वास्थ्य बिमा कार्यक्रम शुरू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस