सीमान्तकृत समुदायका सवालमा एकजुट भएमात्र अधिकार सुनिश्चित : महिला सांसद

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, १६ : ४३
सीमान्तकृत समुदायका सवालमा एकजुट भएमात्र अधिकार सुनिश्चित : महिला सांसद

काठमाडौँ । बागमती प्रदेशका महिला सांसदले सीमान्तकृत समुदायका सवालमा सबै एकजुट हुन सके मात्र उनीहरुको हक अधिकार सुनिश्चित गर्न सकिने बताएका छन् । जागरण मिडिया सेन्टरले आयोजना गरेको बागमती प्रदेशसभाको लागि संविधान, संघीयता प्रणाली र कानून तर्जूमा सम्बन्धी आधारभूत विषयहरुमा बागमती प्रदेशका सीमान्तकृत समुदायका महिला सांसदसँग छलफल तथा अन्तरक्रियामा उनीहरुले साे कुरा बताएका हुन् ।

 

उनीहरुले महिला, दलित, जानजाति तथा अल्पसंख्यक समुदायको हिकमा ऐन तथा कानून निर्माण सीमान्तकृत समुदायका सांसदहरु एकजुट हुन आवश्यक रहेको औंल्याए।कार्यक्रममा संविधानसभाका सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले महिला तथा सीमान्तकृत समुदायका सांसदहरुको भूमिका प्रभावकारी बनाउन साझा मुद्धामा सांसदहरु बीच सहयोग र समन्वय खाँचो रहेको बताइन् ।

बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले साझा मुद्धामा महिला सांसद एकजुट हुन सकेको अवस्था मात्र सीमान्तकृत समुदायको पक्षमा ऐन तथा कानून निर्माण गर्न खाँचो रहेको बताइन् ।अर्की सांसद भुवनकेशरी श्रेष्ठले संघीय, प्रदेशका अधिकारमा अझै पनि अन्यौल रहेको बताइन् । अर्की सांसद सुना परियारले दलित समुदायका सवालमा गैरदलित समुदायका प्रदेशसभाका सदस्यहरु बोल्नुपर्ने बताइन् ।

कानुन व्यवसायी मोहन आचार्यले नेपालको संविधानका मुख्य विशेषता, संघीय राज्यको स्वरुप वा ढाँचा : विश्वको संक्षिप्त अनुभव, नेपालको सन्दर्भमा संघीय संरचनाको प्रकृति,  विशेषता तथा विशिष्टता, कानून तर्जूमा सम्वन्धी अवधारणा, कानून निर्माण प्रक्रियाका सीमाहरुका विषयमा सहजीकरण गरेका थिए ।

त्यसैगरी प्रदेशको सन्दर्भमा, कानून तर्जूमाका आधारभूत सिन्द्धान्तहरु, विधायनको ढाँचा ः शब्द चयन र वाक्य संयोजन, प्रदेश तहमा कानून निर्माणमा देखा परेका मुख्य चुनौती विषयमा आचार्यले सहजीकरण गरेका थिए ।  कार्यक्रममा बागमती प्रदेशसभा सीमान्तकृत समुदायका महिला सांसदको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस