एसिया कप : भारतकाे पाकिस्तानमाथि २२८ रनको फराकिलो जित

एजेन्सी

मंगलबार, २६ भदौ २०८०, ०७ : १६
एसिया कप : भारतकाे पाकिस्तानमाथि २२८ रनको फराकिलो जित

एजेन्सी । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो अन्तरको जित हात पारेको छ ।

भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे।

कोहलीको यो ४७औं एकदिवसीय शतक हो। कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो ।

श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो ।

सोमबार कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो ।पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे ।  अघा सलमान र इफ्तिखर अहमदले २३-२३ रन बनाए। अरु ब्याट्सम्यान सस्तैमा आउट भए ।