उत्पादनलाई पर्यटन सङ्ग जोड्यौ भने मुलुक अगाडि बढ्छ : धनराज गुरुङ

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०८०, २१ : २७
उत्पादनलाई पर्यटन सङ्ग जोड्यौ भने मुलुक अगाडि बढ्छ : धनराज गुरुङ

कास्की । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन सङ्ग जोडियो भने मुलुकको विकास हुने बताएका छन् । सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

तीज मनाउने तरिका बद्लिएको र परिष्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको भनाई उनको छ । तीजलाई स्थानीय उत्पादनसङ्ग जोड्ने प्रयास सह्रानीय भएको उनले उल्लेख गरे । ‘तीज पर्वलाई केवल रमाइलो पर्वका रुपमा भन्दा पनि स्थानीय उत्पादन सङ्ग पनि जोड्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको रहेछ, खुसी लाग्यो । पर्यटन विकासको आधार नै अब स्थानीय उत्पादन हो’,उनले भने।

पुरुषको वैशाखी नभई मुलुककै नेतृत्व गर्ने बाटोमा अग्रसर हुनुपर्ने उनले बताए ।पुरुष पानी माथिको ओभानो भएर समाज परिवर्तन नहुने तर्क उनको छ । बद्लिएको समाजमा नबद्लिएको विषय बदल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज सांस्कृतिक महोत्सवले जोडेको बताइन । विविध समस्याले जगडेको पर्यटनलाई माथि उठाउन सांस्कृतिक कार्यक्रम मार्फत दिदीबहिनी लागेको देख्दा खुसी लागेको अभिव्यक्ति उनको छ । यस्ता कार्यक्रमले गाउँगाउँका उत्पादनलाई बजारसङ्ग जोड्न मदत पुग्ने भनाई उनको छ ।

पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखराको पर्यटन विकासमा सबै पक्ष एक भएर लाग्नुपर्ने उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय विमान स्थल निर्माण भएता पनि उडान हुन नसक्नु दुर्भाग्य भएको उनले बताए । छिमेकी राष्ट्र सङ्गको समन्वयमा छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय उडान गर्न सके पर्यटन क्षेत्रमा सुधार हुने भनाइ उनको छ । पोखरा देखि मुग्लिङसम्मको सडक निर्माणमा ढिलाइ हुँदा यहाँका पर्यटन व्यवसायी मर्कामा परेको उनले बताए । सरकारले नै इनिसियसन लिएर फास्ट ट्याकमा काम गर्नुपर्ने वातावरण मिलाउनु पर्ने आवश्यकतालाई उनले औँल्याएका छन् । २०३५ सालको पर्यटन ऐन संशोधन गरी नयाँ पर्यटन ऐन ल्याउनुपर्ने उनले बताए।

पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु भट्टराईले तीज पर्वमा मौलिकताको खाँचो भएको बताए । मौलिकता जोगाउन आयोजना गरिएको तीज सांस्कृतिक महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले लिएका छन्।

टेवानकी अध्यक्ष कमला गिरीले पहिलो संस्करणको कार्यक्रम भएकाले कमीकमजोरी हुन सक्ने र आगामी दिनमा सुधार गर्दै लैजाने बताइन । भदौ २५ देखि २७ गते सम्म कोमागाने पार्क लेकसाइडमा हुने तीज सांस्कृतिक महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग प्राप्त भएको जानकारी गराइन ।