सात प्रतिशत ब्याजदरमा सरकारले लियो आन्तरिक ऋण

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०८०, १६ : १३
सात प्रतिशत ब्याजदरमा सरकारले लियो आन्तरिक ऋण

काठमाडौं । सरकारले भदौ २४ गते विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाएको छ । केन्द्रीय बैंकले ६ वर्षे अवधिको सो ऋणपत्रलाई ७ प्रतिशत ब्याज दिएको छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने उक्त ऋण पत्र खरिद गर्न २५ व्यक्ति तथा संस्थाले ७७ प्रस्ताव पेश गरेका थिए ।

बोल कबोल प्रक्रियामा २४ अर्ब ३५ करोड रुपैयाँको ऋणपत्र खरिद गर्ने प्रस्ताव भएपनि सोमबार राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदर प्रस्ताव गर्नेहरुलाई १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो । यसअघि पनि भदौं १० गते राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदरमा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै आन्तरिक ऋण उठाएको थियो ।

चालू आर्थिक वर्षमा ४ पटक आन्तरिक ऋण उठाइसकेको छ । भदौ १ गते निष्काशन गर्न लागिएको ६ वर्षे अवधिको ऋणपत्र भने रद्द भएको थियो । दुइ महिनामा विकास २७ अर्ब ८६ करोड रुपैयाँ बराबरको ऋणपत्र सरकारले उठाइसकेको छ । साउन १९ गते साढे ६ प्रतिशत ब्याजदरमा ऋण उठाएपनि त्यसयता भने सात प्रतिशतमै ऋण उठाइरहेको नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस