‘कविडाँडा साहित्य समाज आख्यान पुरस्कार’का लागि १० कृति छानिए

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०८०, १५ : ५८
‘कविडाँडा साहित्य समाज आख्यान पुरस्कार’का लागि १० कृति छानिए

चितवन । कविडाँडा साहित्य समाज चितवले ‘कविडाँडा साहित्य समाज आख्यान पुरस्कार – २०७९’ का लागि १० आख्यानका कृतिहरु छनोट गरेको छ । प्रत्येक वर्ष समाजले उत्कृष्ट एक आख्यान कृतिलाई प्रदान गर्दै आएको यो पुरस्कारका लागि १० कृतिको पहिलो सूची सार्वजनिक गरिएको हो ।

कविडाँडा साहित्य समाजले समग्रतामा उत्कृष्टता, बिक्री बितरण, पाठक प्रतिक्रिया, समालोचकहरुको विश्लेषणका आधारमा १० वटा कृतिको नाम सार्वजनिक गरेको समाजका अध्यक्ष अग्रज साहित्यकार एलबी क्षेत्रीले जानकारी दिए । उनले यस वर्ष आख्यान धेरै र राम्रो लेखिएकोले धेरै मेहनत गरेर १० वटाको सूची सार्वजनिक गरेको बताए ।

यस सूचीमा जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवारा, रामलाल जोशीको बाआमा, देवीप्रसाद सुवेदीको मनु, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा, रेणुका जिसीको सनेस र अशोक थापाको सन्तापको धून रहेका छन् ।

समाजका अध्यक्ष क्षेत्रीको अनुसार पहिलो चरणको छनोटमा परेका १० आख्यानहरूमध्येबाट दोस्रो चरणमा पाँच आख्यानको छनोट हुनेछ र अन्तिम चरणमा पुरस्कृत हुने एकमात्र पुस्तकको घोषणा गरिनेछ । उत्कृष्ट कथा र उपन्यासलाई मात्र दिइने यो पुरस्कारको राशी एक लाख २५ हजार रुपैयाँ रहेको छ । चितवनबाट प्रकाशित आख्यान कृतिहरुलाई पनि हरेक वर्ष १५ हजार राशीको पुरस्कार समाजले प्रदान गर्दै आइरहेको छ ।

समाजले यसअघि यो पुरस्कार महेश थापाको ‘मरिचिका’, श्याम शाहको ‘पथेर’, भुवन ढुंगानाको ‘परितेक्ता’ र लोकराजको ‘छाइल’ लाई प्रदान गरिसकेको छ । यो वर्ष दिइने पुरस्कार पाँचौं श्रृंखला हो । २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले साहित्यसम्बन्धी गोष्ठी, प्रतियोगिता र पुरस्कारहरु स्थापित गरेर चितवनलाई साहित्यको हब बनाउन महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस