एन्फा विवाद : अध्यक्ष र महासचिवविरुद्ध बर्खास्त गर्न माग गर्दै ४० प्रतिशतको निवेदन

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०८०, १४ : २२
एन्फा विवाद : अध्यक्ष र महासचिवविरुद्ध बर्खास्त गर्न माग गर्दै ४० प्रतिशतको निवेदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ। संस्थापन पक्षसँग असन्तुष्ट रहेका इतर समूह र गत निर्वाचनमा पराजित समूहले सोमबार एन्फाको केन्द्रीय कार्यलयमा एन्फा अध्यक्ष  नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४८ सदस्यले हस्ताक्षर गरेका छन् । उक्त समूहले सोमबार बिहानै इमेलमार्फ अविश्वासको प्रस्ताव दर्ता गराएको र एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

असन्तुष्ट समूहले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारण सभा बोलाउनका लागि निवेदन दिएकाे दाबी गरेका छन्।

४० प्रतिशत सदस्यको निवेदनपछि अब २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने विधान उल्लेख छ। यदि साधारणसभा नबोलाएमा आफूहरूले साधारण सभा आह्वान गर्ने पनि सदस्यहरूले लेखेको निवेदनमा उल्लेख छ।
 

प्रतिक्रिया दिनुहोस