समाजवादी मोर्चाको सन्देश सभा मंगलबार सुदूरपश्चिममा

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०८०, १३ : ४८
समाजवादी मोर्चाको सन्देश सभा मंगलबार सुदूरपश्चिममा

काठमाडौँ । समाजवादी मोर्चाको प्रदेश अन्तर्गत सुदूरपश्चिम प्रदेशमा यसअघि स्थगित भएको सन्देश सभा मंगलबार (भोलि) हुने भएको छ । भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।  समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते  माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।

जिल्ला तहसम्म सङ्गठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देश सभा गर्दै आएको छ । सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए । 

‘धनगढीमा स्थगित भएको सन्देश सभा २६ गते गर्ने सहमति भएको छ । त्यसपछि चार दलको बैठक बसेर बाँकी कार्यक्रम घोषणा हुनेछ’, उनले भने ।  राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा गर्दै राष्ट्रिय एजेण्डामा साझा मुद्दा बनाएर मोर्चाले कार्यक्रम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस