नइ प्रकाशनको साधारणसभाले पारित गर्‍यो कुलपति र उपकुलपतिको व्यवस्था

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १६ : ३७
नइ प्रकाशनको साधारणसभाले पारित गर्‍यो कुलपति र उपकुलपतिको व्यवस्था

काठमाडौं। नइ प्रकाशनले कुलपति र उपकुलपतिको व्यवस्था गर्ने भएको छ ।​​​आइतवार बसेको विशेष साधारणसभाले अध्यक्ष तथा उपाध्यक्ष पदलाई कुलपति र उपकुलपतिमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको विशेष साधारणसभाले कुलपति र उपकुलपतिको व्यवस्था गर्ने निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

उनका अनुसार नइ प्रकाशन गैरनाफामूलक संस्थाका रुपमा सञ्चालनमा रही आएको छ । साथै नइ प्रकाशनले नेपाली वाङ्‍मय परम्पराका साधक स्रष्टाहरूका स्थायी मूल्य र सार्वजनिक महत्त्वका अप्रकाशित कृतिहरूलाई बिक्री मूल्य नराखी प्रकाशन गर्दै आएको छ ।

 

रजत महोत्सवसमेत मनाइसकेको प्रकाशन साहित्यिक तथा सांस्कृतिक संस्था भएको र यस संस्थाबाट प्रकाशित कृतिहरूमा सङ्कलित लेखका विद्वान् स्रष्टाहरूले नइलाई प्राज्ञिक संस्थाकै रूपमा व्याख्या गरी मूल्याङ्कन गरेका छन् । 

नइ प्रकाशन सर्वसाधारणले बुझ्ने गरेजस्तो पुस्तक प्रकाशन गर्ने व्यवसायी संस्था नभएको सदस्यसचिव प्रसाईले जानकारी दिए ।नइ प्रकाशनको उद्देश्य प्रकाशन व्यवसायद्वारा आयआर्जन गर्नुका सट्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विविध क्षेत्रका विशिष्ट प्रतिभाहरूलाई उपाधि सम्मान, पदक, पुरस्कार आदि अर्पणद्वारा प्राज्ञिक एवं सृजनात्मक वातावरणको निर्माण तथा अभिवृद्धि गर्नु रहेको छ ।

प्रतिक्रिया दिनुहोस