अलैँचीको भाउ गत वर्ष भन्दा दोब्बर, किसान उत्साहित

रासस

आइतबार, २४ भदौ २०८०, १४ : १७
अलैँचीको भाउ गत वर्ष भन्दा दोब्बर, किसान उत्साहित

फुङ्लिङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) रु ५६ हजारसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन ५५ हजारदेखि ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको बताए । रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २४ हजारदेखि २७ हजार रुपैयाँ मात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताए ।

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन रु ६० हजारमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन रु ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने ५६ हजार रुपैयाँमा कारोबार भएको उनले जानकारी दिए । ‘अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी हो’, अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस