झापामा कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, १४ : ३८
झापामा कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

झापा । मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।

भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दुर्गाप्रसादसँग गत असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उनकी पत्नी शोभा दाहालले बताइन् । उनले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएको बताइन् ।

प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको कल विवरण विश्लेषण गरेर खोजीकार्य गरिरहेको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । दाहालका चार वर्षीय एक छोरा र १८ वर्षीया छोरी छन् । 

उनकी पत्नी शोभाले नातागोता, साथी र प्रहरीको सहयोगमा खोजीकार्य जारी रहेता पनि पत्ता लाग्न नसकेकामा चिन्ता व्यक्त गरिन् । “प्रहरी, नातागोता र साथीभाइ सबै गुहारिसक्यौँ, भेटिनुभएको छैन”, उनले भनिन्, “कहिल्यै घरझगडा पनि भएको थिएन, आर्थिक व्यवहारको पनि तनाब थिएन । उहाँको खोजीमा सघाइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।”

जङ्गलको चौतारीमा महिला अलपत्र

पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जङ्गल खण्डमा एक महिला दुई महिनादेखि अलपत्र रहेकी छन् । जङ्गलमा रहेको पक्की चौतारामा उनको रातोदिन बास छ ।

“मङ्गोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी ती महिला नेपाली बोल्न सक्नुहुन्छ । भारतबाट आउने कुनै गाडीबाट चारआली बजारमा उत्रिएपछि उहाँ जङ्गलको चौतारोमा लुगाकपडाको पोकोसहित बस्दै आउनुभएको हो”, सडक मानवको उद्धारमा सक्रिय अभियन्ता नरेश मोहराले भने “धरान र धनकुटामा नातेदार भएको बताउने उहाँले नातेदारको अहिलेको ठेगाना र नाम बताउन सक्नुहुन्न ।”

”अभियन्ता मोहराले उद्धार गरेर इटहरीको मायाघर लैजान प्रस्ताव गर्दा ती महिलाले नमानेको बताइन् । उनी बस्दै आएको चौतारो जङ्गली हात्ती हिँड्ने जोखिमपूर्ण क्षेत्रमा रहेको छ । दिउँसो राजगार्गमा सवारीसाधन र बटुवा हिँड्ने गरेता पनि सो स्थानमा राति सुनसान हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस