कलिङ साहित्यिक महोत्सव समापन

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०८०, ११ : ३६
कलिङ साहित्यिक महोत्सव समापन

काठमाडौँ । यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय कलिङ साहित्यिक महोत्सव समापन भएको छ ।शुक्रबारबाट सुरु भएको तीन दिने ‘सूर्य नेपाल काठमाडौँ कलिङ साहित्य’ मा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्कालगायत देशका साहित्यकारहरू सहभागी थिए । हिमालयन होटलमा आयाजित सो महोत्सवको दोस्रो संस्करण आइतबार समापन भएको हो ।  

 

नेपालको चर्या र कुमारी नृत्य प्रस्तुति गर्दै सुरु भएको महोत्सवमा ५० भन्दा बढी सेसन प्रदर्शन भएका थिए ।दक्षिण एसियाका करिब तीन सय लेखकहरूको सहभागिता सो भएको महोत्सवमा दक्षिण एसियाली कला, साहित्य, सङ्गीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा भएको थियो । 

 

भारतबाट आएका अभिनेत्री दिव्या दत्त, गायिका अभिलिप्सा पाण्डा, नृत्यक अरुणा मोहन्ती, पटकथा कार नीलधर माधव, पत्रकार सुहासिनी हैदरलगायत चर्चित व्यक्तित्वहरू सो महोत्सवका मुख्य आकर्षण बनेका थिए । 

 

त्यस्तै नेपालबाट अभिनेत्री मनिषा कोइराला, कलाकार नीर शाह, अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने, आख्यानकारहरू नयनराज पाण्डे, अमर न्यौपानेलगायत कलाकार तथा लेखक विभिन्न सेसनका मुख्य आकर्षण बने । 

महोत्सवमा तीनै दिन कविता, गीत तथा गजलका प्रस्तुतिमा दर्जनौँ सर्जकले प्रस्तुति दिए । महोत्सवको अन्तिम सेसनको प्रस्तुति महफिलमा स्रोताहरूको उल्लेखनीय सहभागिता थियो ।तीन दिनसम्म चलेका सेसनमा लैङ्गिक समानता, जलवायु परिवर्तन, कूटनीतिलगायत समसामयिक राजनीतिक मुद्दामा समेत छलफल भएका थिए । 

प्रतिक्रिया दिनुहोस