वर्षाले प्रभावित भारत र पाकिस्तानबीचको खेल शुरु

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, १६ : ४४
वर्षाले प्रभावित भारत र पाकिस्तानबीचको खेल शुरु

काठमाडौँ । वर्षाले प्रभावित एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल पुनः शुरु भएको छ । केही बेर यो खेल वर्षाले प्रभावित भएको थियो ।  श्रीलङ्काको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा चार ओभर २ बलमा १५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । रोकिएको खेल अहिले सुरु भएको छ ।

भारतका कप्तान रोहित शर्मा २२ बलमा ११ रन बनाएर आउट भएका छन् । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल भएको हो ।भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ ।

पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । भारतको यो पहिलो खेल हो । नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।  भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ।